दशैंको टीकाको दिन नयाँ सर्ट र धोएको पुरानो प्यान्ट लगाएको थिएँ। आमाले ‘बासँग मागेर ढाका टोपी पनि लगा’ भन्नुभयो। बाको र मेरो टाउकोको आकार उत्रै रहेछ। उहाँको पुरानो टोपी भिरेँ। घरमा टीकाटालो सकेर आफ्नै खलकका काका बा र हजुरबाका भाइका घरतिर परिवारै हिँड्यौं।
मेरा हजुरबाका एक जना सौतेनी भाइ हुनुहुन्छ। उहाँ हाम्रो खलकमै अलि बढी धार्मिक प्रवृत्ति भएको मान्छे हो। उहाँसँग टीका थाप्दै थिएँ।
‘फल्नाका छोरा, फल्नाका नाति क्या बात भन्ने गराए’ भन्दै हजुरबाले टीका लगाइदिन थाल्नुभयो।
अनि अन्तिममा भन्नुभयो, ‘प्रभु येशुले तेरो सधैँ रक्षा गर्नेछन्।’
म झसंग भएँ।
हिन्दू धर्मअनुसार पूजापाठमा बढी नै रुचि राख्ने हजुरआमा पनि हजुरबासँगै मलाई टिका लगाइदिँदै हुनुहुन्थ्यो। हजुरबाको पछिल्लो आशीर्वादसँगै हजुरआमाले अनुहार रातो पार्नुभयो। मैले लगाएको ढाका टोपीमा जमरा राख्दा उहाँका हात कामेको मैले महशुस गरेँ। उमेरले हो वा लाजले, ठम्याउन सकिनँ।
‘अनि टीका लगाउन हुन्छ त क्रिश्चियन भएपछि,’ मैले सोधेँ।
‘प्रभुसँग माफ मागेर, प्रभुलाई भनेर जे गर्दा पनि हुन्छ बाबु,’ हजुरबाले भन्नुभयो, ‘टीकाको दिन बिहानै प्रभुलाई प्रार्थना गरेँ। आज टीका हो। घरमा पाहुना आउनुहुन्छ। हामीलाई माफ गर्नुहोला भनेँ। पहिलेदेखिको चलन हो, टीका लगाउँछु र लगाइदिन्छु भनेँ।’
हजुरबाले परमेश्वरसँग क्षमा मागेरै हामीलाई टीका लगाइदिनु भएको रहेछ।
‘हामीलाई त अब क्रिश्चियन नभन्नू भन्नुभएको छ सरमिसले। हामी त विश्वासी हौं,’ हजुरआमाले जवाफ दिनुभयो।
‘किन क्रिश्चियन नभन्ने नि,’ मेरो जिज्ञासा झनै बढ्यो।
‘अलि घृणा गरे के बाबु गाउँलेले। धर्ममारा भन्न थाले। आखिर परमेश्वर एउटै छन् भनेर हिन्दू धर्मले नै भन्छ। खास परमेश्वर त परमपिता नै हुन् नि,’ हजुरबाले थप्नुभयो।
कति ठाउँमा क्रिश्चियन भन्दा गाउँलेले दुर्व्यवहार गर्ने, अर्मपर्ममा नबोलाउने, एक्ल्याउने र उस्तै परे भौतिक आक्रमण समेत भएछ। त्यसैले आजभोलि ‘सर मिस’ले क्रिश्चियन नभनेर ुविश्वासीु भन्ने रहेछन्। अझ ुसच्चाई धर्मु भन्दै बाइबल बाँड्दै हिँड्दा रहेछन्।
हजुरबाका ‘सरमिस’ मध्ये एक कमला थापालाई पछि पोखरामा भेटेको थिएँ। उनले दोलखा, उदयपुर, डोल्पा, पर्वतमा क्रिश्चियन धर्म प्रचारकमाथि भएको कुटपिटका समाचार मलाई देखाउँदै भनेकी थिइन्, ‘आफ्नो आस्था मान्ने र त्यसको प्रवर्द्धन गर्ने अधिकार जति हिन्दू धर्मावलम्बीलाई छ, उति नै क्रिश्चियन मान्नेलाई पनि छ। मुस्लिम, बौद्धमार्गी सबैलाई छ। हामीले त्यही गरेका हौं। जबरजस्ति पो गर्न भएन। हाम्रा कुरा सुनेर कोही क्रिश्चियन बन्छ भने हामीलाई किन दुर्व्यवहार गर्ने ? ‘
हजुरबा-आमाले आफूहरूलाई ुविश्वासीु भनेको यही भएर रहेछ।
टीका र प्रसाद ग्रहण गरेपछि सपरिवार अर्का हजुरबाका घरतिर लाग्यौं। बाटोमा बाले भन्नुभयो, ‘साईंला बा प्रभुतिर लागेको छ महिना जति भयो। यसपटक त टीका लगाइदिनुभयो। अर्को सालदेखि कुन्नि ?’
बाको कुरा सुनेर म फिस्स हाँसे।
आठरनौ वर्षयता गाउँका धेरै मान्छे क्रिश्चियन धर्मावलम्बी भइरहेका छन् भन्ने थाहा थियो। कतिलाई चिनेको पनि थिएँ। आफ्नै कूलमा क्रिश्चियन धर्म छिरेको भने थाहा पाएको रहनेछु। नवलपुरको पहाडी गाउँ डेढगाउँमा हाम्रो कूलका चार घर मात्र बाँकी छन्। अरु भट्टराई परिवार बसाइ सरेर कोही मधेश झरिसके। कोही सहर पसिसके। र, कोही विदेश पुगिसके।
बाटामा झुण्डिएको लिङ्गे पिङ देखेँ। दुई चार सर्को बल लगाउन कस्सिएँ।
‘दसैंमा भुइँ छाड्नपर्छ,’ आमाले सुनाउनुभयो।
टीकाको दिन आफन्तका घर चहार्दै सकियो। भोलिपल्ट गाउँ छाड्ने योजना थियो। तर कूलमा पसेको ुक्रिश्चियानिटीु का बारेमा बुझ्न मन लाग्यो। सहर पस्ने दिन सारेँ।
‘टीकाको भोलिपल्ट जेमघन्टाको दिन हिँड्न हुँदैन’ भन्ने आमा खुसी हुनुभयो।
एकादशीको सखारै हजुरबाको घर गएँ।
‘अँ बाबु, ढाड दुख्ने बेथाले समात्यो। त्यसमा हिँड्न थालेपछि सन्च भा’ झैं लाग्याछ,’ हजुरबाले क्रिश्चियन धर्ममा लागेपछिको अनुभव सुनाउनुभयो, ‘छोराको घरबार पनि के-के भयो, भयो। तीन वटी बिहे गरिसक्यो। यसमा लागेपछि प्रभुले हेर्छन्। सबै राम्रो हुन्छ भन्नुभएको छ सरले।’
वर्ष दिनअघि गाउँमा ‘संगति घर’ बनेको रहेछ। हजुरआमा पनि हजुरबासँगै हरेक शनिबार चर्च जानु हुँदोरहेछ।
‘हजुरबाले जाम भनेपछि जान्न भन्न मिल्छ र बाबु मैले,’ हजुरआमाले थप्नुभयो, ‘भैंसी बिरामी थियो। सबै जनाले प्रार्थना गरिदिएपछि साता दिनमै राम्रो भयो।’
हजुरबा-आमाले ‘सर र मिस’ संबोधन गर्ने एक जोडी क्रिश्चियन धर्म प्रचारक हरेक साता गाउँ आउँदा रहेछन्। पोखराबाट शनिबार बिहान मोटरसाइकलमा गाउँ आइपुग्ने ‘सरमिस’ आइतबार साँझ फर्कँदा रहेछन्। तिनीहरूकै नेतृत्वमा ४०-५० जना महिलारपुरुष र तिनका छोराछोरी, नातिनातिना भेला भएर संगति घरमा प्रार्थना गर्ने र भजन गाउने गर्दा रहेछन्।
हजुरबासँग एकछिन गफिएपछि उहाँहरूसँग हरेक शनिबार संगति घरमा भेला हुने अरू गाउँलेका कुरा सुन्न हिडेँ।
यिनैमध्ये एक रहिछन् ५० वर्षकी पूर्णमाया विक। उनलाई मुर्छा पर्ने रोग लागेछ। र, उनका लागि यही रोग निदानको बाटो बनेछ क्रिश्चियन धर्म।
‘जति लामा धामी लाउँदा पनि भएन, ओखतिले पनि छोएन,’ पूर्णमायाले भनिन्, विश्वासमा लागेपछि निको भए जस्तो भएको छ। रोग उपचार हुन्छ भनेरै क्रिश्चियन धर्म अँगालेको उनले बताइन्।
साँच्चै रोग निको भएको छ त ?
उनका छिमेकी डम्मरसिंह विकलाई मधुमेह र उच्च रक्तचाप रहेछ। औषधि खाँदा-खाँदा भुक्तमान भइसकेका। क्रिश्चियन धर्ममा लागेपछि निको हुन्छ भनेर औषधि खान छाडेछन्।
अञ्जु श्रेष्ठको घर पुगेँ। उनले ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ नामको संस्था दर्ता गरेर आफ्नै घरमा कार्यालय राखेकी छन्। हरेक शनिबार यहाँ उनी बाइबल पढ्ने-पढाउने गर्दिरहिछन्।
आफ्नै घरमा ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ खोलेकी अञ्जु श्रेष्ठ। तस्बिरः दीपक भट्टराई
‘दुई वर्ष भयो दाइ म लागेको,’ ३० वर्षीया अञ्जुले आफ्नो मनका पोको खोल्न थालिन्, ‘रितिरिवाज केही त्याग्न पर्दैन भनेर भन्नुभयो पोखराबाट आएका सरमिसले। श्रीमान परदेश हुँदा मनमा अनेक कुरा खेलिरहन्थ्यो। यसमा लागेर प्रार्थना गर्ने गरेपछि शान्त हुन्छ। मलाई त राम्रो लागेको छ।’
उनका सरमिसले के-के भन्छन्, थाहा भएन। अञ्जुले भने मनका कुरा मात्र हैन रक्त क्यान्सरदेखि हेपाइटाइटिस बीसम्मको उपचार परमपिता परमेश्वरको कृपाले हुने गाउँलेलाई बताउने रहिछन्। उनले मलाई पनि भन्न बिर्सिइनन्।
‘यसमा लाग्दै गएपछि पोखरा गइयो। सैयौं मान्छे भेला भएर प्रार्थना गरियो। काठमाडौं पनि गएर बस्ने ठाउँ छन्। साथीभाइ छन्,’ अञ्जुले सुनाइन्।
‘उनलाई साथ चाहिएको थियो, यो धर्मले दियो’ मैले अर्थ लगाएँ।
‘पवित्र बाइबल घरमा लगेर राख्यो भने मात्रै पनि रक्षा हुन्छ नि दाइ,’ अञ्जुले हिँड्ने बेलामा भनिन्।
मैले हाँसेर टाँरे। सेतोपाटी


















