काठमाडौं / १० वर्षे जनयुद्धको बेलामा द्वन्द्वरत माओवादी पक्षले सबैभन्दा बढी मठमन्दिरहरु भत्काए। धर्मकर्म गर्नेहरुलाई पनि लखेटे। कतिपयको जनै च्यात्नुका साथै हत्या पनि गरे। नेपालका कम्युनिष्टले कहिल्यै पनि पुजाआजा गर्ने छैनन् भन्ने आफ्ना कार्यकर्तालाई पाठ सिकाएका प्रचण्डहरु नै अहिले आफैं धर्मकर्ममा सरिक हुँदै आएका छन्।
तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै निर्देशनमा कम्युनिष्टले कहिल्यै पुजाआजा गर्दैन, समाजमा धर्मकर्म गर्दा विभेद हुन्छ भन्दै माओवादी कार्यकर्ताहरु गाउँ गाउँ आएका थिए । उनीहरुले धर्मकर्म गर्नेलाई कारबाही गर्न पार्टी नेतृत्वले निर्देशन दिएको भन्दै गाउँघरमा छिरेर आम नागरिकलाई उकुसमुकुस पारेका थिए।
ब्राह्मण तथा क्षेत्रीहरु शोषक तथा सामन्ती हुन्छन् भन्दै धार्मिक किताबहरु समेत जलाए। समाजमा भगवान-देउताप्रतिको आस्था मान्नेहरुले पनि माओवादीले पुजा गर्न लागेको देख्न सक्छ भन्दै भाग्नु पर्यो। तर पछिल्लो समयमा जिब्रोको स्वादकै कारण हुनसक्छ सायद, अधिकांश मन्दिरहरुमा पशुको बली दिनेहरु नै कम्युनिष्ट छन्।
समाजमा भेदभावलाई निर्मुल पार्नुपर्छ भन्दै एक्कासी दलित समुदायलाई ब्राह्मण समुदायसंग हातेमालो गराउँदा झनै ठूलो द्वन्द्व चर्किएको थियो। किनकि समाजले त्यसलाई एक्कासी पचाउन सक्दैन। समयक्रम अनुसार आफैं परिवर्तन हुँदै जाने कुरा हो। अहिले पनि हेर्ने हो भने केही वर्ष अगाडि र हिजोआज पनि कति फरक भैसकेको छ।
देशमा विस्तृत शान्ति सम्झौता भएपछि भएको निर्वाचनमा माओवादी नै हालीमुहालीका साथ देशकै पहिलो शक्तिको रुपमा स्थापित भयो। त्यसपछि सरकारमा गएर आफैंले भत्काएका मठमन्दिरको पुनर्निमाण नगरे पनि श्रद्धाको भाग जागे जस्तै आफ्नै स्वार्थका लागि समाजमा मतको आशा बोकेर पुजाआजामा लागे।
माओबादीका शीर्ष नेताहरु बाबुराम भट्टराई, मोहन बैद्य किरणलगायतका नेताहरु पनि पूख्र्यौली पुजापाठ भन्दै धर्मकर्ममा सरिक भए। त्यसैमा डा भट्टराई त धेरै पटक नै जग्गेमा बसेका थिए। उनलाई त्यसरी पुजापाठ गरेको अरुले आलोचना गर्न सक्छन् भन्दै लुकीछिपी पुजा बस्ने गर्थे । अहिले माओवादी नेताहरु पुजाको नाटक गर्छन् या साँच्चिकै आत्मादेखि नै पुजाआजा गर्छन् त्यो भने बुझ्न सकिएको छैन।
द्वन्द्व कालमा मन्दिरमा बम हान्नेलाई कसरी श्रद्धाको भाव जाग्यो भन्ने कुरा अहिले चौतर्फी बहसको विषय पनि बनेको छ। मन्दिरमा पुजाआजा गर्नका लागि पछिल्लो समयमा द्वन्दकालमा जनयुद्ध लडेकाहरुले नै बढी चासो राख्दै आएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै आफू मुख्यमन्त्री हुँदा बोका काटेर मन्त्रालयमा प्रवेश गरेका थिए । त्यसले के सन्देश जान्छ भने आफूलाई सहज पार्नका लागि मात्र सोझा सिधा जनतालाई प्रयोग गरेको स्वतः अनुमान गर्न सकिन्छ।
त्यसै सन्दर्भमा सोमबार मात्रै म्याग्दी पुगेका प्रचण्डले मंगलबार तातोपानी कुण्डमा स्नान गर्नसम्म भ्याएका थिए। जसले के संकेत जान्छ भने ‘आफैंले फालेको फोहोर चिज आफैंले आफैंले खानु’ जस्तै भएको छ।
प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचारको सिलसिलामा तातोपानी स्नानका लागि म्याग्दी पुगेको नाटक गरिन्छ। प्राकृतिक चिकित्सालयको रूपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथलगायत रोगका बिरामीलाई फाइदा पुग्ने आशा बोक्दै त्यहाँ पुग्ने प्रचण्डहरुले जनताले पुज्ने मन्दिर तथा कुण्डहरु किन भत्काउनु पर्यो ?प्रचण्डहरुले नै मनन् गरुन्। डिसि नेपाल


















