सुपारी जोन कार्यक्रम सञ्चालन

789

भद्रपुर /  कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको छ। सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले झापामा सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ।

मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकालाई समेटेर ‘सुपारी जोन’ कार्यक्रम लागू गरिएको जोनका प्रमुख राजेन्द्र खरेलले जानकारी दिए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको ‘सुपारी जोन’मा किसानलाई सुपारी खेतीतर्फ आकर्षित गर्नका लागि अनुदान तथा प्रोत्साहन दिन चालु आवमा ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।

जिल्लामा सुपारीको व्यावसायिक खेतीबाट २० हजार कृषक लाभान्वित भएको खरेल बताए। हाल दुई हजार ६३१ हेक्टर जग्गामा गरिएको सुपारी खेतीबाट वार्षिक नौ हजार ७१० मेट्रिक टन सुपारी उत्पादन भइरहेको छ। ‘सुपारी जोन कार्यक्रम सञ्चालनपछि उत्पादन बढ्ने, यसमा आश्रित किसानले नयाँ प्रविधि, सिँचाइ, मल र ऋण पाउने छन्,’ खरेलले भने। बढी सुपारी उत्पादन हुने मेचीनगरका चार वडा, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकाको दुई हजार हेक्टर क्षेत्रफलमा सुपारी खेती भइरहेको छ।

हालसम्म किसानले परम्परागत तरिकाले सुपारी खेती गर्दै आएकामा अब सुपारी जोनमार्फत प्राविधिक सेवा, प्रशोधन उद्योग, बजार र अनुदान बढी मात्रामा पाइने अपेक्षा गरिएको सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले बताए। परियोजनामार्फत सुपारीखेती गर्ने किसानलाई सरकारले प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत तथा कृषि व्यवस्थापन सेवा पूर्वाधारमा ८५ प्रतिशत अनुदान प्रदान गर्नेछ। “सुपारी जोन कार्यक्रमले बजारीकरणको समस्या हल हुनेछ,’ खतिवडाले भने।

सुपारी किसान विश्वनाथ ढकाल तीन वर्षदेखि दुई सय ५० क्विन्टल सुपारी निर्यात हुन नसक्दा गोदाममै थन्किएको जनाए । ‘सरकारले किसानलाई बजारीकरणका लागि सघाउनु पर्छ,’ उनले भने। जिल्लामा धान जोन कार्यक्रम २०७२ सालदेखि तथा रबर र सुपारी जोन कार्यक्रम चालु आवदेखि लागू भएको हो।बिजमाण्डु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here