काठमाडौं / सरकारले अहिले नै अब हुने चुनावको मिति घोषणा गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जनाएका छन् ।
‘छोटो समयमा चुनावको तयारी गर्दा विभिन्न कमजोरी भएका छन् त्यसैले अब त्रुटीरहित चुनावका लागि आयोगलाई पर्याप्त समय चाहिन्छ’, उनले भने, ‘सरकारले अहिले नै चुनावको मिति घोषणा गरेमा सबैभन्दा उत्तम हुन्छ, म यही मञ्चबाटै सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ निर्वाचनका बारेमा अध्ययन गर्ने नियोक, जियोक र संकल्प नामक संस्थाले शुक्रबार काठमाडौँमा आयोजना गरेको विस्तृत सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा यादवले निर्वाचनका कमीकमजोरीहरु हटाउन अबको चार वर्षपछि हुने निर्वाचनको मिति सरकारले अहिले नै घोषणा गर्नुपर्ने जनाए ।
उनले निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिन पनि माग गरे ।
‘त्रुटी रहित निर्वाचन सम्पन्न गर्नका लागि मिति घोषणाको अधिकार पनि आयोगलाई दिनुपर्छ होइन भने कानुनमै चुनावको मिति उल्लेख गरौँ त्यही मितिअनुसार सबैले तयारी गरौँ,’ उनले भने ।
उनले अहिलेको कानुनमा चुनाव गराउन आयोगलाई १ सय २० दिनको समय मात्रै दिइएकोले यो पर्याप्त नभएको जनाए ।


















