काठमाडौं / राष्ट्रपति विद्या देवी भण्डारी महारानी जस्ती र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुसका शाषक जारशाही जस्ता भएको नागरिक समाजका अगुवा डा. सुन्दरमणी दिक्षितले जनाएका छन् ।जनअधिकार अभियान, नेपालले काठमाडौंस्थित कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठान भवनमा आयोजना गरेको वर्तमान राजनीतिक व्यवस्था र मानव अधिकार विषयक कार्यक्रममा उनले सो अभिव्यक्ति दिएका हुन् ।
उनले भने- `नेपाली जनताको जीवन स्तर तथा अर्थिक विकास होला भन्ने हाम्रो अपेक्षा थियो तर अहिले प्रचण्ड नयाँ राजा जस्ता बनेका छन् । केही दिन अघि प्रचण्ड हेलिकप्टर चढेर तातो पानीमा नुहाउन गए रुसका जार शाहीहरुको जस्तै गरेर ।´
विद्यादेवी भण्डारीको तडक भडक कुनै महारानीकोभन्दा फरक छैन । दशैँमा टिका लगाउँदा महारानीले झै तडकभडक देखाईन् । उनको सवारी हुँदा बाटो खाली गरिन्छ । हिजो त एउटा मात्रै राजा थिए, आज सयौँ राजा भए । के हामीले त्यसकै लागि ज्यान थापेर आन्दोलन गरेका हौ भन्दै प्रश्न समेत गरे ।
उनले अगाडि भने- `हिजो हामी नागरिक समाजका अगुवाहरु २०४६ सालमा आफ्नो ज्यानको प्रवाह नगरी आन्दोलनमा होमियौ, २०६२ सालमा पनि सेनाको गोलीको वास्ता गरेनौ, धेरै पटक जेल पर्यौ, देशमा परिवर्तन आउँछ ।´
अब नेपालमा संसदीय व्यवस्था असफल भयो, एकको दुई परिवर्तन भएन । अब देशमा नयाँ क्रान्ति हुन सक्छ । बरु अब देश कार्यकारी राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्दछ । त्यसले मात्रै देशकालागि निकास दिने दिक्षितले जानकारी दिए ।














