नयाँ श्रम कानुनबाट नेपालमा लगानीको वातावरण बनेको छ – ढकाल

223

काठमाडौं / आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति एवम्नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको जनाउनुभएको छ ।

श्रमिकहरुको वर्तमान आर्थिक अवस्था विषयमा एओटीएसद्वारा जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले श्रम र श्रमिकहरुको सामाजिक सुरक्षासम्बन्धी कानुनमा भएको नयाँ व्यवस्थाबाट देशमा लगानीको वातावरण बनेको धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदको अध्यक्षका रुपमा उक्त सम्मेलनलाई सम्बोधन गर्दै ढकालले देशमा उद्योगधन्दाको स्थापना र विकासका साथै वैदेशिक लगानीका लागि पनि यी कानुनले नयाँ वातावरण सिर्जना गर्ने र श्रमसँग जोडिएका विविध समस्या हलगर्न सघाउ पुग्ने अपेक्षा नेपालको आर्थिक क्षेत्रले गरेको जनाउनुभयो ।

यी नयाँ कानुनी व्यवस्थाले श्रमिकसँग जोडिएका विभिन्न खाले समस्या सम्बोधनका लागि समन्वय गर्न महासंघलाई पनि सहयोग पुगेको धारणा उहाँले राख्नुभयो । नेपाल सरकार, रोजगारदाता, श्रमिकहरु आबद्ध ट्रेड युनियन प्रतिनिधि तथा नेपाल
उद्योग वाणिज्य महासंघबीचकोछलफल र परामर्शपछि यी कानुन आएका र नयाँ व्यवस्थाबमोजिम श्रमिकलाई दिने सेवा र सुविधाका लागि रोजगारदाताहरु पनि सहमत भएकोले नेपालको श्रम क्षेत्रमा र यसका कारण सिंगो अर्थतन्त्रकै क्षेत्रमा यी कानुनले सकारात्मक प्रभाव पार्ने उहाँले जनाउनुभयो ।

श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरुको आफ्नै र रोजगारदाताका तर्फबाट गरिने योगदानले सामाजिक सुरक्षा कानुनतः नै निर्माण भएको र न्युनतम ज्यालाको नयाँ व्यवस्थाले श्रमका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाँले जनाउनुभयो ।योगदानमा आधारित यस सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाताका तर्फबाट कामदारको शुरु तलबको २० र श्रमिक आफैको ११ प्रतिशतका दरले काटेर सामाजिक सुरक्षा कोषमा जम्मा गरी श्रमिकलाई दिने प्रावधान रहेको छ ।

उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थीर सरकार बनेको भन्दै नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई पनि आग्रह गर्नुभयो । श्रमिकका समस्याका विषयलाई पनि सम्बोधन गर्नेगरी श्रमसम्बन्धी कानुन निर्माण भएका र देशमा राजनीतिक स्थिरता पनि आएकोले नेपालका कैयौँ सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न अब विदेशी लगानीकर्ताका लागि राम्रो र सकारात्मक वातावरण बनेको उहाँले जनाउनु भएको हो । सो सम्मेलनमा विश्वका १४ देशका रोजगारदाता कम्पनी तथा प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको टोकियोबाट ढकालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here