काठमाडौँ, ६ मंसिर । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले गृह मन्त्रालय अन्तर्गत निकायका कामकारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्रालयमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६को प्रथम चौमासिक समिक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका कामकारवाही सन्तोषजनक रहेपनि यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । ‘तपाईहरुलाई दिइएको जिम्मेवारी ईमान्दारितापूर्वक, सक्रियतापूर्वक र सृजनशिल ढङ्गले निर्वाह गर्नुहोस् । कुनै समस्या आए मन्त्रालय तपाईहरुको साथमा छ,’ गृहमन्त्री थापाले भने । गृहमन्त्रालयले ८२ बुँदे सुधार कार्ययोजना बनाएको र सोही अनुरुप काम अघि बढीरहेको गृहमन्त्रीको भनाई छ ।
गृहमन्त्री थापाले भने, ‘समिक्षाबाट निस्किएको सवलता र कमजोरी आधारमा आफ्ना कामकारवाहीलाई थप परिस्कृत बनाउँदै लैजानुहोस् ।’ कार्यक्रममा गृह सचिव पे्रमकुमार राईले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार बनाउन गृहमन्त्रालयको महत्वपूर्ण भूमिका हुने भएकोले सोही अनुरुप काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिए ।
उनले मन्त्रालयको कामकारवाही सहि बाटोमा रहेपनि अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा गृह अन्तर्गतका निकायहरुले हालसम्म गरेका कामकारवाहीको बुँदागत रुपमा विवरण प्रस्तुत गर्दै त्यसमाथि सामुहिक छलफल गरीएको थियो ।

















