गणतन्त्र दिवस जनताको चाड

170

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्वकाे गणतन्त्र दिवसलाई जनताको चाडका रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसलाई कर्मकाण्डी रूपमा नभई जनताको चाडका रूपमा मनाउने र संविधान दिवसलाई अझ असाधारण र विशेष रूपमा मनाउनुपर्ने बताउनुभयो । “हामीले गणतन्त्र प्राप्ति, त्यसका उपलब्धिलाई ओझेलमा पर्न दिनु हुँदैन । विस्मृतिमा जान दिनु हुँदैन । शहीदको बलिदानलाई बिर्सन सकिँदैन । बिर्सिन मिल्दैन”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले मुलुक कोरोनाको त्रास र पीडामा रहेका बेला खुसियालीका साथ मनाउने समय यस पटकका लागि कम भए पनि गणतन्त्र दिवसको महत्त्व, गरिमा तथा यसले ल्याएका परिवर्तनको स्मरण र सम्मान गर्नैपर्नेसमेत बताउनुभयो । “त्यसैले गणतन्त्रको अर्थ र महत्त्वका सम्बन्धमा अन्तक्र्रिया र परिसंवादजस्ता कार्यक्रम बढी मात्रामा गरौँ । चर्चा–परिचर्चा गरौँ”, उहाँले भन्नुभयो ।
गणतन्त्र जन्मिँदै विशिष्ट हुने वा जन्मिँदै ‘नाति जर्नेल’ हुने र शासक हुने प्रणाली नभई कर्मबाट र जनताको विश्वासबाट स्थापित हुने प्रणाली भएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । “जन्मसिद्ध श्रेष्ठता अवैज्ञानिक कुरा हो, भ्रम हो, पाखण्ड हो । अब त्रास, भय, लोभ र अन्धविश्वासमा परेर वशिभूत पार्ने कुरा विज्ञानसम्मत र न्यायसम्मत हुँदैन । आज जन्मिएको साधारण बच्चा पनि मुलुकको सर्वोच्च स्थानमा पुग्न सक्छ, पुग्न पाउनुपर्छ”, उहाँले सविस्तार भन्नुभयो ।
गणतन्त्रमा सत्य र तथ्यका आधारमा हिँड्ने समाज आवश्यक रहेको बताउनुहुँदै उहाँले अहिलेको राजनीतिक परिपाटीमा अस्वस्थ प्रतिस्पर्धा रहेकोसमेत बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “अरूको चरित्र हत्या गरेर आफू अगाडि बढ्ने प्रवृत्ति देखिएको छ । यो असत्यको मार्ग हो र अलोकतान्त्रिक हो ।”
गणतन्त्रबिनाको लोकतन्त्र पूर्ण लोकतन्त्र हुन नसक्ने बताउनुहुँदै उहाँले कसैप्रति जन्मजात घोषणाका आधारमा नतमस्तक हुने परिपाटी लोकतन्त्र नहुनेसमेत बताउनुभयो । अहिले जनता पीडामा छन् र जनताको पीडालाई सरकारले बोध गरेको बताउनुहुँदै उहाँले यो गणतन्त्र दिवसमा उल्लासमय कार्यक्रम नगरिए पनि राष्ट्रियता झल्काएर, राष्ट्रिय गान गाएर र विद्युतीय माध्यमहरूबाट बढी मात्रामा छलफल र अन्तक्र्रिया चलाएर मनाउनुपर्ने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो दिवसको महìवलाई युवा पुस्ता र बालबालिकासम्म पुग्ने गरी मनाउनुपर्छ । यसलाई आत्मसात् गर्ने गरी बुझाउनुपर्छ । एउटा वर्ग हिजोको अवस्था हेरेर भ्रम फैलाउन खोज्दै छ । अर्को वर्ग हिजोको सुखसुविधा सम्झेर मुख मिठ्याउँदै छ । एउटा वर्ग त्यसप्रति बेखबर हो कि भन्ने जस्तो देखिन्छ ।” गाेेेरखा पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here