काठमडौ, सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा बस दुर्घटनामा परी शुक्रबार साँझ एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । सुनसरीको चतरास्थित बराहक्षेत्रबाट फर्केको करीब ६० यात्रु बोकेको को १ ख २७९९ नम्बरको सो बस इनर्वास्थित सडक छेउको पोखरीमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परि मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी ५७ वर्षीया बेचनीदेवी यादव, ६५ वर्षीया मखनीदेवी यादव, ७० वर्षीया सिकिलदेवी साह, दिनेश रजक र पहिचान हुन नसकेको सोही ठाउँको एक महिला रहको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।
दुर्घटनामा तीन दर्जन यात्रु घाइते भएका र घाइतेमध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । गम्भीर घाइते आधा दर्जन यात्रुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको र अन्य घाइतेको राजविराजस्थित गजेन्द्र नारयाणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।


















