काठमाडौँ, कृश्चियन धर्मप्रचार संस्था युनिभर्सल पिस फाउण्डेसन (युपिएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ ।
काठमाडौमा सञ्चालन भइरहेको एशिया प्यासिफिक सम्मेलन– २०१८ को समापन कार्यक्रमको अवसरमा उक्त संस्थाले प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड प्रदान गरेको हो । समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि एक लाख डलर (एक करोड भन्दा बढी नेपाली रुपैयाँ) को रहेको छ ।
कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाका क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका छन् । “यो नेपाली जनता र नेपाल सरकारलाई गरिएको सम्मान हो । यसबाट प्राप्त रकम सरकारी कोषमा दाखिला गरेर युवा तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थालाई अगाडि बढाउने मेरो सोच छ, ” प्रधानमन्त्री ओलीले भने ।