काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लैङ्गिक हिंसा नियन्त्रण संजाल समिति गठन तथा कार्यसञ्चालन विधि, २०७५ सम्बन्धी दुई दिवसीय अभिमुखिकरण कार्यशाला गोष्ठीको मंगलबार होटल मनाङ, ठमेलमा आयोजित एक समारोहबीच उदघाटन गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले समाजमा बढ्दै गएको लैङ्गिक हिंसा नियन्त्रणको विषयमा भएका परिवर्तनबारे यसै क्षेत्रमा कार्यरत प्रहरी अधिकृतहरुलाई अभिमुखिकरण गर्ने उद्धेश्यले आयोजित कार्यक्रम महत्वपूर्ण र समयसापेक्ष रहेको जनाउनुभयो ।
समाजमा बढ्दै गएका लैङ्गिक हिंसाका घटनाहरुलाई नियन्त्रण गर्ने विगतको अभियानलाई निरन्तरता दिँदै देशव्यापीरुपमा लैङ्गिक हिंसा नियन्त्रणका लागि संजाल गठन गरी यसका कामकारबाहीलाई थप व्यवस्थित गर्न ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्यसञ्चालन विधि,२०७५’ जारी गरिएको समेत उहाँले उल्लेख गर्नुभयो ।
महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीले समाज सेवा गर्ने अवसर पाएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले मन, वचन, कर्मले कार्यसम्पादनको दायरामा बढोत्तरी गरी दृढसंकल्पित भई आ-आफ्नो जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
महिला तथा बालबालिकाको क्षेत्रमा पीडितमैत्री सेवा प्रदान गर्नु अतिआवश्यक भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले पीडित प्रहरी कार्यालयमा आइसकेपछि बोली, वचन र व्यवहारले नै घाउमा मलम लाग्ने गरी प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने जनाउनुभयो ।
समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत स्थानीय सरकार र सरोकारवाला निकायलाई समेटेर ल्याइएको कार्यक्रमले स्थानीय स्तरको समस्या पहिचान गरी निराकरण गर्न र सुरक्षित वातावरणमा विकास निर्माणका कार्य अगाडि बढाउन सकारात्मक प्रभाव पार्दै उत्साहप्रद वातावरण सिर्जना गरेको समेत प्रहरी महानिरीक्षक खनालले उल्लेख गर्नुभयो ।
प्रहरी प्रधान कार्यालय कार्य विभाग तथा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले धन्यवाद व्यक्त गर्नुभएको उक्त समारोहमा प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापतिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समारोहमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले प्रहरीले सम्पादन गरेका कार्यको चर्चा गर्दै काठमाडौं महानगरपालिका प्रहरीसँग समन्वय र सहकार्य गरी काम गर्न तत्पर रहेको जनाउनुभयो ।
बुधबार सम्पन्न हुने उक्त कार्यशाला गोष्ठीमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्यसञ्चालन विधि, २०७५ र २०७२ को महत्व, जिल्ला, नगरपालिका, गाउँपालिका र वडास्तरीय संजाल गठन, यसका काम कर्तव्य र अधिकार, यसको अनलाइन अभिलेखिकरणको परिचय, यस अन्तर्गत कार्यसम्पादनको क्रममा प्राप्त चुनौति, अनुभव र सुझावका बारेमा प्रस्तुतिकरण, आगामी योजना तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमको परिचय लगायतका विषयमा छलफल हुनेछ ।
उदघाटन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, गृह मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिहरु, राष्ट्रिय महिला आयोगका प्रतिनिधि, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु, विभिन्न नगरपालिका प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यशाला गोष्ठीमा महानगरीय प्रहरी कार्यालय तथा सो अन्तर्गतका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र ७७ वटै जिल्लाका महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत ९७ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको छ ।

















