जनवादी गणतन्त्र चीन र प्रजग कोरियाको सामाजिक अध्ययन भ्रमण

119

-डा.दीपेन्द्र रोकाया / देवकी तिमल्सिना

त्यहाँबाट हामीहरू सिधै जुछे विचार टावर गयौ । टावर अघिल्तिर कुटो, ब्रस र हतौडा बोकेको महिला, बुद्धिजीवी र मजदुरको प्रतिकात्मक शालिकको अवलोकन ग¥यौ । स्थानीय अनुवादकका अनुसार जुछे उद्योग, राष्ट्रिय सुरक्षा र दीर्घायुको लागि सञ्चालित परियोजना २ वर्षमा सम्पन्न गरिएको थियो ।

जब हामी जुछे टावरमा लिफ्टबाट उक्ल्यौ, मन चंगा भयो । चारैतिरको तस्वीर लियौ । प्याङ्योङ शहर कत्रो छ ? भनी हेर्दा यहाँबाट सबै देखिदो रहेछ । यो एउटा भौतिक टावर मात्र रहेनछ, क्रान्तिको विश्व दृष्टिकोण निर्माण गर्ने र नयाँ सन्देशहरू प्रवाह गर्ने स्थान पनि रहेछ । यो टावर १७० मिटर अग्लो छ ।

जिउदै भेटेजस्तो भयो
हिजो हामीले राष्ट्रपति किम इल सुङको जन्म घर पुगेर आएका थियौ । आज उहाँको स–शरिर राखिएको सुर्य दरवारमा गयौ । गेटमा पुग्दा लाइनबद्ध भयौ । सिधा हिडेर गएको केही समयपछि सिधै हिड्न सजिलो हुने लिफ्ट चढ्यौ । अर्को लिफ्ट चढी माथिल्लो तला पुग्यौ । चेक भयो । हामीभन्दा अगाडि नव नियुक्त थाई राजदुत हिडिरहेका थिए ।

सुर्य दरवारका सेनाहरू उच्च सजगताका साथ उभिएका, आफ्ना नियमित कार्य गरिरहेका देखिन्थ्ये । शिष्टाचारका लागि उभिएकाजस्ता लाग्ने महिलाहरूले हरेकलाई गाइड गरिरहेको पाइयो । हामीलाई अनुवादक साथी पाक र लीले त्यहाँ आर्कषक रूपमा राखिएका तस्वीरहरूको बारेमा जानकारी दिदै लिनुभयो ।

जब हामी ठुलो हलमा प्रवेश ग¥यौ, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति किम इल सुङ र कोरियाली जनताका महान नेता किम जोङ इलले हामीहरूसँग बोल्न तयार भएर उभिरहेकोजस्तो लाग्ने शालिक सामु पुग्यौ । मलाई त हेरिरहुँ र केही कुरा गरुँजस्तो लाग्दो भयो । तर यो कुरा सम्भव थिएन, त्यसैले हामी त्यहाँबाट पनि अघि बढ्यौ ।

माथिल्लो तलामा राष्ट्रपति किम इल सुङ उत्तानो परेर सुतिरहेजस्तो देखियो । हामीले खुट्टा नजिक, दाँया र वायाँ पुग्दा झुकेर श्रद्धाञ्जली अर्पण गर्ने चलन रहेछ, त्यसै ग¥यौ । हामीभन्दा अघि त्यहाँ पुगेका कोरियाका महिलाहरू कमरेड किम इल सुङको सामुन्ने पुगेर रोइरहेको देखेँ । त्यो क्रम मभन्दा अघि उभिएका अनुवादक पाक पनि स्वाँकस्वाक गर्दै लामो समयसम्म बोल्न छोडे ।

यही क्रम तल्लो तलामा कोरियाली जनताका महान नेता किम जोङ इल पनि त्यसै गरी सुतेजस्तो देखियो । हामीले माथि जसरी श्रद्धाञ्जली अर्पण गरेका थियौ, त्यसैगरी श्रद्धाञ्जली अर्पण ग¥यौ । त्यहाँबाट उहाँहरूले जोडेको रेल वे, हवाई वे को विश्व सम्पर्क अवलोकन ग¥यौ । उहाँहरूलाई विश्वभरबाट प्राप्त सम्मान तथा प्रशंसा पत्रहरू हे¥यौ । त्यो क्रान्तिकारी खुला किताव हो बाबै !

उहाँहरूको मोवाइल कार्यालय रेलको डिब्बालाई बनाइएको रहेछ । उहाँहरूले चढ्ने कार पनि सुरक्षित गरी राखिएको देखियो । यो दरवारको अवलोकन पछि मैले भ्रमण पुस्तिकामा लेखेँ–

‘क्रान्तिकारी नेताहरूले देखाएको बाटो महान छ । क्रान्तिकारी नेताहरूहरूले क्रान्तिकारी इतिहास निर्माण गरेकोलाई स्मरण गर्ने हो भने त्यो अभिभारा बोकेर परिस्थितिजन्य क्रान्तिकारी भूमिका निर्वाह गर्न आवश्यक छ भन्ने बोध भयो ।’
सूर्य दरवारभित्र पस्दा क्रान्तिकारी नेताहरूले यो संसारबाट बिदा लिएका रहेनछन्, आराम मात्र गरिरहनु भएको छ । उठ्नु हुन्छ र कुरा हुन्छ जस्तो लागिरह्यो ।

घरजस्तो अस्पताल
खानाअघि कोरियाली एशोसिएशन अफ सोशियल साइन्टिक्स्का उप महानिर्देशक चोय काङसँग पुनः शिष्टाचार भेट भयो । उहाँसँगको भेटघाट निकै आत्मीय लाग्ने भइसकेको छ । किनकि उहाँसँग काठमाडौमा भएको राष्ट्रिय सेमिनारबाटै परिचित हौ । उहाँले कोरिया आइ पुगेको साँझ स्वागत गर्दै सँगै खाना खाएका थियौ । उहाँसँग हामीले केही नयाँ जिज्ञासा तथा कोरिया पुगेदेखिका अनुभव आदान प्रदान ग¥यौ ।

हामीलाई स्तन क्यान्सर अस्पतालमा घुमाइयो । सन् २०१३ मा स्थापित यस अस्पताललाई प्रत्यक्ष रूपमा सर्वोच्च नेता किम जोङ उनले हेरिरहनु भएको रछ । यस अस्पतालका इञ्चार्ज डा. मुन छाङ उन हुनुहुँदो रहेछ । उहाँका अनुसार, कोरियाका कोही पनि महिला क्यान्सरजस्तो घातक रोगबाट पीडित हुन नपरोस् भनी अस्पताल निर्माण भएको हो । सर्वोच्च नेता उनको निर्देशन छ कि प्रत्येक महिलाले वर्षको दुई पटक चेक गर्नैपर्ने र ४०–५० वर्षका महिलाले अझ विशेष ख्यालगरी चेक गर्न पर्दछ ।

उक्त अस्पताल उपचार कक्ष होइन, सफा घर होजस्तो देखियो । डाक्टर तथा नर्सहरू सहयोगी हुन्, उनीहरू आउँछन्, जान्छन् जस्तो लाग्ने भयो । त्यहाँ काम गर्ने डाक्टरहरू अधिकांश कोरियाकै रहेछन् । हामी अस्पतालभित्र पस्दा जुता बाहिर अटो प्लाष्टिक मोडियो । अनि यहाँका कार्य कक्षहरू तथा विरामीलाई सिधै डाक्टरसम्म पहुँच स्थापित गरेको तार सिरानीमा राखेको पनि प्रत्यक्ष देख्यौ । जुछे विचारले कोरियामा लागु गरेको समाजवादकै कारण सबैलाई निःशुल्क उपचारको व्यवस्था भइरहेको जानकारी पायौ ।

वाल दरवारको उत्साह
बेलुकीपख हामी वाल दरवारमा गयौँ । त्यहाँ पनि हामीलाई स्थानीय शिक्षिकाले स्वागत गर्नुभयो । आजका वालवालिका भनेका भोलि देशका कर्णधार हुन् भन्ने भनाईको व्यवहारिक अनुभव त्यतीबेला भयो, जतिबेला उहाँहरूले वाद्यवाजन, नृत्य, आर्ट, ड्रमसेट बजाएको, भौतिक विज्ञानको कक्षा पढाई भइरहेको र भलिवल खेलीरहेका विद्यार्थीहरूमाझ पुगेर उनीहरूले गरिरहेको क्रियाकलाप प्रत्यक्ष रूपमा देख्न पायौ ।

यहाँ देशभरका करिव पाँच हजार विद्यार्थी दैनिक दिन कला, खेलकुद र विज्ञानका आधुनिक क्रियाकलापमा संलग्न हुने रहेछन् । उनीहरूले रंग्याइरहेको र बनाइरहेको हरेक चित्र तथा कोटेशनले एउटा न एउटा अर्थपूर्ण सन्देश दिने रहेछ । संसारमा असम्भव भन्ने कुरा केही पनि छैन भन्ने संकेत उनीहरूले जुछे विचारले परिकल्पना गरेको मान्छेले सिद्ध गराउने आधार बनीरहेको पाइयो ।

हामीले केही कक्षा हेरेपछि स्याटलाइटको अवलोकन ग¥यौ, त्यसपछि एउटा भब्य हलमा छि¥यौ । त्यहाँ हलभरी मान्छे खचाखच भरिएको देख्यौ । हामीलाई अघिल्लो पंक्तिमा बस्ने ठाउँ राखिएको रहेछ । हामी बस्ने वित्तिकै स्वागत गीत शुरु भयो । विभिन्न प्रकारका करिव दुई दर्जन प्रहसन, गीत, नाच प्रस्तुति भयो । हाम्रा आँखा मञ्चबाट वरपर कहीँ पनि जान पाएनन् ।

यी प्रस्तुतिमा प्रयोग भएको धुन, गीतको लय र भाषा त बुझिएन तर यसले संकेत गरेको कुरा अवश्य बुझियो । भनाईको मतलव यहाँका प्रस्तुतिहरूले कोरियन समाजवाद छोलिमा गतिबाट मालिमा गति पैदा भईसकेको छ । यसले विश्व विजेता बन्ने सपना देखिरहेको छ । त्यसका लागि गरिरहेको अथक मिहेनत नै जुछे विचारबाट पैदा भएको कोरियन समाजवादको लक्ष्य हो ।

कक्षा कोठाहरूको अवलोकनपछि हामीले वालवालिकाले नै निर्माण गरेको फुलको बुके किनेका थियौ, त्यो त्यसै कार्यक्रममा काम लाग्ने रहेछ । कार्यक्रम सकियो, हामीले किनेको बुके मैले टोली नेताको हैसियतले मञ्चमा गएर साना वालवालिका मध्ये एउटीलाई दिएँ । सबैलाई उत्साह बाँडेँ ।

मैले आफ्नो वालवालिकालाई लगानी नामक कार्यक्रमलाई थप प्रभावकारी बनाउने तरिका सिक्न पाएँ । साँच्चै भन्ने हो भने आमाबाबु स्कूलको महत्व र आफ्नो भोलिको जुनीलाई कस्तो बनाउने भन्ने कुरा सोचेर साँझ अवेरसम्म घोत्लिएँ । मसँगै देवकीले छोरीहरूको बारेमा चिन्ता, चासो र चिन्तन गर्दा केही नयाँ खाका कोर्न आवश्यक ठान्यौ । आम नेपाली वालवालिकाको भविश्यसँग जोडिएको विषय हो यो ।

क्रान्तिकारी संग्रहालय
विहान डा. मुन र पाकले प्रजग कोरियाको राजनैतिक विचारधारको बारेमा हिजैको छलफललाई निरन्तरता दिनुभयो । उहाँहरूले किम इल सुङवाद र किम जोङ इलवादको चर्चा गरिरहँदा एक पटक पनि माक्र्सवाद, लेनिनवादको उप्चारण गर्नु भएन । हामीले थाहा पाएअनुसार जुछे विचार कोरियाली भूमिमा माक्र्सवादको सिर्जनशील प्रयोग हो भन्ने बुझेका थियौ।

जुछे विचारले राजनैतिक स्वतन्त्रता, आत्मनिर्भरता, सुरक्षा र बलियो अर्थतन्त्रको विकास गर्न जोड दिन्छ । यसले मान्छेलाई केन्द्रमा राखी अध्ययन गर्दछ र आफ्नो मालिक आफै हो भन्ने मान्यता राख्दछ । यसो नगरेको भए यो देशले आणविक हतियार निर्माण गरी विश्व साम्राज्यवादीहरूसँग हाँक दिन कसरी सम्भव हुन्थ्यो होला र ?

त्यसपछि हामी शिक्षक तालिम कलेजमा गयौ । त्यस कलेजकी इञ्चार्ज चोइकुम जुले हामीलाई स्वागत गर्नुभयो र वालवालिकालाई कस्तो बनाउनु पर्दछ भनी सिकाउने कुरा देखाउनुभयो । उहाँले देखाएको तरिकाले पढाउन मल्टिमिडियाको प्रयोग गरी कला, संगीत, नृत्य र गायन विधिबाट शिक्षण गर्दा प्रभावकारी हुने बताउनुभयो । त्योभन्दा महत्वपूर्ण कुरा भर्चिअल कक्षा सञ्चालन र त्यसमा तुल्सीदास मर्हजन र देवकी तिमल्सिनाले सहभागीता जनाउनु भयो ।

हामीले वालवालिकालाई कस्तो बनाउने भन्ने कुरा अभिभावकमा आमा र विद्यालयमा शिक्षकको भूमिका अह्म हुन्छ । त्यसैले प्रकृति र मान्छेलाई तुलना गरी सिकाउनु पर्दछ । यहाँ शिक्षकहरूलाई प्रत्येक ३ महिनामा ३ चरणको शैक्षिक तालिम दिने गरिदो रहेछ । पाठ्यक्रमको नमुना समेत हे¥यौ । युरोप, अमेरिकाको शिक्षण शैलीको तारिफ गर्ने हामीहरू पनि उनीहरूको शैली देखेर प्रभावित भयौ । उनीहरूले त्यत्तिकै विश्व साम्राज्यवादलाई कागजी बाध हो झै गरी अघि बढेका होइन रहेछ भन्ने महसुस भयो । क्रमशः…जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here