फेरि धर्नामा बस्छु, बलात्कारी हत्यारा नसमातिएसम्म आन्दोलन गरिरहन्छु : यज्ञराज

251

काठमाडौं / महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत कञ्चरपुरकी १३ वर्षीया निर्मला पन्तका बुवा यज्ञराज पन्तको स्वास्थ्य अवस्थामा क्रमश: सुधार हुँदै गएको छ ।

मंसिर ८ गते अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनी आईसीसीयू वार्ड हुँदै पुरुष उपचार कक्षमा सरेका छन् । चार दिनदेखि उनी सर्जिकल वार्डमा उपचाररत छन् । खुट्टामा लागेको घाउ निको हुँदै छ । कुर्न बसेकी श्रीमती दुर्गादेवी पन्त भने घर फर्किसकेकी छन् । परिवार स्रोतमा अनुसार उनलाई हाल उठ्न तथा हिँडडुल गर्न सहयोग चाहिँदैन ।

कुरुवा बसिरहेकी उनकी दिदी प्रेमवती राणा भन्छिन्, ‘शौचालय लैजान दुई जना चाहिन्थ्यो, अहिले एक्लै जान्छन् ।’ उनका अनुसार उपचारमा संलग्न नर्स देख्नासाथ यज्ञराज छोरी निर्मला नै सम्झिन्छन्, रुन्छन्, कराउँछन् । उनी भन्छिन्, ‘उहाँ निर्मलालाई सम्झिरहनुहुन्छ, राति पनि घरी निदाउनुहुन्छ, घरी बर्बराउनुहुन्छ ।’

मानसिक रोगको लक्षणका आधारमा थप उपचारका लागि राजधानी ल्याए पनि उनी मानसिक वार्डमा छैनन् । खुट्टामा चोटपटक लागेको छ । रिपोर्टका अनुसार एउटा औंला पनि भाँचिएको छ । खोच्याउँदै हिँड्छन् ।

मंसिर ८ गतेको घटना सम्झिँदै उनी भन्छन्, ‘बजारबाट दाह्री काटेर म न्यायका लागि धर्ना बस्न जाँदै थिएँ, अचानक खुट्टामा कसैले बेस्सरी हानेजस्तो लाग्यो, एकै छिनमा खुट्टा सुन्नियो ।’ याद भएसम्म होस आउँदा उनले आफूलाई इमेर्जेन्सी वार्ड लेखेको ठाउँमा पाएका थिए । कुनै अस्पतालमा भर्ना हुँदै छु भन्ने उनलाई लाग्यो । मानसिकरोगी भन्दै बाहिर चलेको हल्लाका कारण उनी दुस्खी छन् । दुस्खी हुँदै उनी भन्छन्, ‘छोरी बलात्कार हुँदा कुनचाहिँ बाउ छट्पटिँदैन, न्याय नपाएर रिसाउँदैमा कोही पागल भइहाल्ने हो र ?’

प्रेमवतीका अनुसार निर्मलाको हत्यापछि यज्ञराजको व्यवहारमा फरकपन आएको थियो । उनी एउटा कुरा गर्न खोज्दा अर्कै गर्थे, आफूले भनेका कुरा आफैं बिर्सन्थे । परिवारमा उनलाई परामर्शका लागि अस्पताल लैजाने सल्लाह भइरहन्थ्यो । उनी भन्छिन्, ‘उहाँ भने, धर्ना छाडेर कतै जान मान्नु हुँदैनथ्यो, खाने–सुत्ने ठेगान हुँदैनथ्यो ।’

यज्ञराज निर्मलाको हत्यारा पत्ता लगाएर कारबाही गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालयको गेटअगाडि २४ घण्टा धर्ना बस्दै आइरहेका थिए । प्रेमवती थप्छिन्, ‘धर्नामा बस्दा अनेक किसिमका मान्छे आउँथे, निर्मलाबारे एउटै कुरा हजारपटक भन्नुपर्दा हुने असह्य पीडाले पनि उहाँलाई यस्तो बनाएको होजस्तो लाग्छ ।’

उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई थाइराइडको समस्या देखिएको छ । औषधि खाएर आराम गर्दै छन् । खुट्टाको घाउ पनि निको हुँदै छ । उनलाई हेरिरहेका मनोचिकित्सक डा.सरोज ओझा भन्छन्, ‘उहाँलाई गम्भीरखाले मानसिक समस्या छैन, चिन्ताका कारण मनोसामाजिक समस्या भएको हो, पहिलेभन्दा धेरै सुधार छ ।’

यज्ञराजका तीन छोरी थिए । उनी बाँकी दुईलाई पनि केही होला भनेर आत्तिन्छन् । निर्मलाको घटनापछि उनी शान्त छैनन् । ठीक भएर चाँडै घर फर्किन मन लागेको बताउँदै उनी भन्छन्, ‘फर्केर फेरि धर्नामा बस्छु, बलात्कारी हत्यारा नसमातिएसम्म आन्दोलन गरिरहन्छु ।’ कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here