हेटौंडा / उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश नं ३ लाई मुलुककै ‘औद्योगिक हब’का रुपमा विकास गरिने जनाएका छन् ।
हेटौँडा औद्योगिक क्षेत्रको ५५औँ वार्षिकोत्सव समारोहमा उहाँले लगानीकर्तालाई आकर्षण गर्न प्रदेश सरकारले चालू आवलाई ‘उद्योग वर्ष’का रुपमा मनाइरहेको जनाउनुभयो ।
`लगानीकर्तामाँझ सकारात्मक सन्देश जाओस् भन्ने उद्देश्यले उद्योग वर्ष मनाउने निर्णय गरेका हौँ´, उहाँले भन्नुभयो, `प्रदेश सरकार सानाठूला सबै प्रकृतिका उद्योगलाई प्रोत्साहन गर्न चाहन्छ, त्योअनुरुप नीति बनाइसकेका छौँ ।´
उहाँले बुधबारको मन्त्रिपरिषद् बैठकले ‘प्रदेश औद्योगिक व्यवसायसम्बन्धी विधेयक २०७५’ लाई प्रदेशसभामा पेश गर्न अनुमति दिएको जानकारी दिनुभयो ।
मन्त्री नेपालले उद्योगीलाई स्थानीय कच्चा पदार्थ र स्थानीय जनशक्तिलाई उपयोग गर्नसमेत आग्रह गर्नुभयो ।


















