सार्कलाई पुनर्जीवन दिन अति आवश्यक छः प्रधानमन्त्री

86

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि हुन नसकिरहेको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनको आयोजना गरि पुनर्जीवन दिन अति आवश्यक रहेको बताएका छन् । सार्कका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सार्क स्थापनाको ३४ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार दिएको सन्देशमा सार्क प्रक्रियालाई गतिशील तुल्याउन शिखर सम्मेलन अतिमहत्वपूर्ण भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सार्कको संस्थापक मुलुक तथा वर्तमान अध्यक्षका नाताले नेपाल परराष्ट्र नीतिको प्राथमिकताअनुरुप सार्कको बडापत्र, यसका सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्ध रहेको बताएका छन् । सार्कको बडापत्रले आर्थिक समृद्धिदेखि सामजिक–सांस्कृतिक विकास, सदस्य राष्ट्रको साझा लाभ र हितजस्ता महत्वपूर्ण उद्देश्यलाई सम्मिलित गराएको बताउँदै उनले त्यसका सिद्धान्तले दक्षिण एशियामा क्षेत्रीय सहयोगका निम्ति सुदृढ आधार खडा गरेको बताएका छन् ।

सन् १९८५मा सार्क स्थापना भएयता क्षेत्रीय सहयोगका विविध क्षेत्रमा सङ्गठनले प्रगति गरेकामा खुशी व्यक्त गर्दै उनले सदस्य देश र दक्षिण एशियाका जनतामा हार्दिक शुभकामना बधाई तथा ज्ञापन गरेका छन् ।

“दक्षिण एशिया साझा इतिहास, साझा सामाजिक संरचना तथा सांस्कृतिक सम्पदा र भौगोलिक निकटताले एकसाथ जोडिएको छ, विकासका लागि यहाँ उपलब्ध अथाह सम्भावना र अवसरले सँगसँगै अघि बढ्न र सहकार्यका निम्ति थप गति प्रदान गरेको छ,” प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।

वर्तमान विश्वले गरिबी, असमानता तथा जलवायु परिवर्तनजस्ता कैयौं चुनौतीको सामना गर्नुपरेको बताउँदै प्रधानमन्त्री ओलीले तिनलाई नियन्त्रण गर्न विश्वव्यापी एवं क्षेत्रीय प्रयास अपरिहार्य भएका बताए ।

सन्देशमा उहाँले दक्षिण एशियामा क्षेत्रीय सहयोगको विकल्प नभएर अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै दक्षिण एशियाली देशको साझा मञ्च सार्कले सदस्य राष्ट्रबीच समझदारी अभिवृद्धि, विकास र समृद्धिका निम्ति मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here