गाईघाट / उदयपुरमा वर्षेनी हुने विभिन्न आपराधिक क्रियाकलाप, बलात्कार, यौनहिंसा र चोरी जस्ता कार्यमा सबैभन्दा बढी १५ वर्ष मुनिका बालकनै संलग्न हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कअनुसार चार महीना यतादेखि भएका जिल्लाका विभिन्न आपराधिक घटनामा अधिकांशमा बालक नै संलग्न हुने गरेको दखिएको छ ।
जिल्लामा भएका चार महीनाभित्रका बालिका बलात्कार झण्डै सात घटना तथा यौन दुव्र्यवहारका अधिकांश घटनामा १५ वर्षसम्मका बालकको संलग्नता रहेको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले जनाउनुभयो । यता इन्सेक उदयपुरका अनुसार चार महीनाभित्र जिल्लामा २२ बालिका बलात्कृत भएको र यसमा १५ वर्षसम्म बालकको संलग्नता धेरै रहेको छ ।
इन्सेक उदयपुरका संयोजक भरत थापाका अनुसार बलात्कारको घटनामा पहिले १७ वर्ष भन्दा माथिका किशोर बढी संलग्न हुने गरे पनि अहिले १५ वर्ष मुनिका बालकको धेरै संलग्नता देखिन्छ ।
यस अघिका वर्षमा जिल्ला लागुऔषध दुव्र्यसन र प्रयोगकर्तामा पनि बढी किशोर संलग्न हुने गरेको तर अहिले १५ वर्ष मुनिका बालक धेरै संलग्न हुने र दुव्र्यसनमा फस्ने गरेको प्रहरी प्रमुख राईले जानकारी दिनुभयो ।
मोबाइल जस्ता प्रविधि बढी चलाउन दिनु, गलत सङ्गतमा लागेका बालबालिकालाई अभिभावकले बेवास्ता गर्नु र समाजका जिम्मेवार व्यक्ति पनि गैरजिम्मेवार बन्दै जानुले अहिले उदयपुरमा बालबालिका अपराधमा बढी संलग्न हुन थालेको विभिन्न विश्लेषक तथा बुद्धिजीवीको धारणा छ ।

















