ओली,बादल र प्रचण्ड सहित उच्च ओहदाका २१ जना विरुद्ध सर्वोच्चमा रिट दर्ता

416

काठमाडौं / प्रधाानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादल विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरिएको छ ।

प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, अर्का अध्यक्ष प्रचण्ड लगायत उच्च ओहदाका अन्य विभिन्न व्यक्तिहरुविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने व्यक्ति मोरङ स्थित ग्रामथान गाउँपालिका–३ का ३८ वर्षीय झलकुमार भगत हुन् ।

रिटमा प्रधानमन्त्री ओलीसहित शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालीन नेकपा माओवादी र हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री बादल, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित २१ जनालाई विपक्षी बनाइएको छ ।

रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरि फुयाँल, रमणकुमार श्रेष्ठ, गोविन्द बन्दी, बालकृष्ण न्यौपाने, उपेन्द्रकेसरी न्यौपाने, तुलसी भट्ट, शेरबहादुर केसी, रामप्रसाद श्रेष्ठ र एकराज भण्डारीले बहस गर्ने भएका छन् ।

नेपाली सेनाबाट विद्रोह गरेर २०६२ साल साउन ८ गते माओवादी सेनामा गएका भगतलाई २०७४ मंसिर ८ गते राति आफ्नै निवासमा सुतिरहेका बेला मोरङ प्रहरीले पक्राउ गरी नेपाली सेनाको पूर्वी पृतना इटहरीको जिम्मा लगाएको थियो ।

प्रहरीले उनलाई निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । तर, पछि भगौडा भन्दै सेनाले नियन्त्रणमा लिएको थियो ।

हाल मकवानपुरको भीमफेदी कारागारमा रहेका भगतविरुद्ध २०७४ पुस १७ मा सैनिक अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो ।

आफूलाई विस्तृत शान्ति समझौता, तत्कालिन सात राजनीतिक दल र विद्रोही माओवादीबीच भएको सहमति लगायतको भावनाविपरीत फैसला सुनाइएको दाबी गर्दै रिट निवेदन दायर गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here