भारत / भारत प्रशासित काश्मिरमा एक प्रहरी चौकीमा शङ्कास्पद विद्रोहीले आक्रमण गर्दा कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुरक्षा कारबाईमा सेनाले काश्मिर आन्दोलनरत विद्रोहीको निकट मानिने दुई किशोरहरू मारिएका विषयलाई लिएर प्रहरी चौकीमा आक्रमण गरिएको हुनसक्ने जनाइएको छ ।
आक्रमणकारीले प्रहरीको चार वटा राइफलसमेत लुटेर लगेका छन् । प्रहरीलाई लक्षित गरी भएको यो सवैभन्दा ठूलो रक्तपातपूर्ण घटना हो ।
‘विद्रोहीको आक्रमणबाट तीन प्रहरी अधिकारी घटनास्थलमा नै र घटनामा सख्त घाइते भएका एक जनाको स्थानीय सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ,’ प्रहरी अधिकृत स्वयमप्रकाश पाणीले जनाए ।
काश्मिरमा आन्दोलनरत विद्रोही समूह जैस–ए–मोहम्मदले घटनाको जिम्मेवारी लिएको छ । भारतीय अधिकारीले दिएको जानकारीमा विद्रोहीले सन् २०१४ पछि अहिलेसम्म सुरक्षाकर्मीका करिब २७० हतियार लुटेको स्वीकारेको छ ।


















