काठमाडौ, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । दुर्घटनामा परी १५जना घाइते भएका छन् । घाइतेको काठमाडौमा उपचार भइरहेको छ । दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त घटनामा मृत्यु हुनेमा तीन महिला र १७ जना पुरुष रहेका छन् ।
मृतकमध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान भइसकेको छ । यसैगरी उपचारका लागि अस्पताल लैजाने क्रममा रामतीमा केनम तामाङको र उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौँमा शुकराम तामाङको मृत्यु भएको हो ।


















