काठमाडौं / उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आफ्नो कार्यालयबाट हिँडेरै एउटा कार्यक्रममा उपस्थित भएको खबर अहिले चर्चाको विषय बनेको छ ।
उपराष्ट्रपति बुलेट प्रुफ गाडी र सडक जाम नगरी पैदल हिँडेको खबरले जताततै चर्चाको विषय बन्नु स्वभाविक हो। राष्ट्रपतिले विलासी गाडी किन्न लागेको, त्यसका लागि सरकारले करोडौँ रकम दिइसकेको खबर आइरहदाँ उपराष्ट्रपति भने यसरी पैदल हिँडनु अचम्म लाग्दो भएको छ । यो विषयको व्यापक चर्चा भइरहेको बेला यो पनि बुझ्न आवश्यक हुन्छ कि आखिर उनी कति दूरी चाहिँ पैदल हिँडेका रहेछन् ?
कान्तिपथमा निर्वाचन आयोग नजिकै रहेको उपराष्ट्रपतिको कार्यालयबाट लायन्स क्लबको कार्यक्रममा सहभागी हुन शुक्रबार उपराष्ट्रपति पुन कार्यालयबाट हिँडेरै जमलस्थित होटल एलो प्यागोडा पुगेका रहेछन् ।
गुगल म्यापमा हेर्दा २ सय मिटरको हाराहारीमा रहेको यो दूरी उनले गाडी नै लगेको भए पनि एक छिन गाडी रोकेर बाटो क्रस गरी होटल छिर्न धेरै समय नलाग्ने ठाउँमा हिँडेर गएका उपराष्ट्रपति पुनको यो कार्य भने गजब नै मान्नुपर्ने हुन्छ ।


















