थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक सहित ऐतिहासिक सफलता जितेको छ । ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका हुन् । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता हो ।
उक्त प्रतियोगितामा १२ राष्ट्रका बडीबिल्डरहरु प्रतिस्पर्धामा थिए । उनीहरु मध्येबाट टप ५ को छनोट हुन सफल भएको थियो । टप ५ मा नेपालसहित भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डर थिए । शनिबार लोटस होटलमा भएको फाइनल राउन्डमा महर्जनले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जित्न सफल भए ।
भारतका जयप्रकाशले दोस्रो स्थानमा चित्त बुझाउनुपर्यो भने सिंगापुरका खेलाडी तेस्रो भएका थिए । थाइल्यान्ड चौंथो र उज्बेकिस्तान पाचौं भए । ३५ वर्षका महर्जनले यसअघि भुटानमा आयोजित ५० औं एसियन बडिबिल्डिङ च्याम्पियनसीपमा पनि स्वर्ण जितेका थिए । उनी नेपालमा हुने बडिबिल्डिङ प्रतियोगिता धर्मश्रीको १३ औं संस्करणका विजेता हुन् भने यसपालिको धर्मश्रीमा पनि ७५ केजी समूहमा उनले स्वर्ण जितेका थिए ।
थाइल्यान्डमा १४ डिसेम्बरबाट सुरु भएको ‘१० औं विश्व बडीविल्डिङ फिजिक स्पोर्टस च्याम्पियनसीप’ मा नेपालबाट मानन्धसहित दुई खेलाडीले भाग लिएका थिए । ‘फिटनेस एन्ड फिजिक्स’ विधामा १७० सेन्टिमिटर उचाई समुहमा बिमल श्रेष्ठले भाग लिएका थिए । उनी ७ राष्ट्रको समुहमा चौंथो भए । ‘फिटनेस एन्ड फिजिक्स’ विधामा सुगठित शरीरका साथसाथै खेलाडीको समग्र लुक्स र हाउभाउ पनि हेरिन्छ । एक प्रकारले यसलाई ‘ह्यान्डसम प्रतियोगिता’ पनि भन्न सकिन्छ ।


















