जथाभावी लेख्नेलाई कारवाही गरिने

189

लहान / नेपाल पत्रकार महासंघ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ ।

शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगत्लाई बदनाम गराउनेलाई कारवाही गर्ने निर्णय गरेको हो ।

केही गैरपत्रकारले पनि मोटरसाइकलमा प्रेस लेखेर हिँड्दै गरेको र पत्रकारको नाममा गलत क्रियाकलापसमेत गरिरहेको पाइएकाले त्यस्ता कार्यलाई यथाशीघ्र रोक्न कारवाही गर्ने निर्णय गरेको महासङ्घ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

शाखाका सभापति गुप्ताको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले सिरहामा रहेको महासङ्घको भवनलाई व्यवस्थित गर्दै लहानको लागि नयाँ भवन बनाउन समिति गठन, निष्क्रिय पत्रकारलाई ससम्मान बिदाइ तथा सक्रिय पत्रकारलाई सदस्यता र नवीकरण गर्ने निर्णय पनि गरेको जनाएको छ ।

यसैगरी विभिन्न क्षेत्रका स्रष्टालाई महासंघले वार्षिकरूपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने, पत्रकारको क्षमता अभिवृद्धिका लागि स्थानीय तहसँग समन्वय गरी अघि बढ्ने र महासंघको कामकाजलाई व्यवस्थित गर्न एक कर्मचारी नियुक्ति गर्ने साधारणसभाले निर्णय गरिएको अध्यक्ष गुप्ताले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here