काठमाडौं / नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधानको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। मंगलबार बिहान माईक खोसाखोस भएको छ । जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक बस्न नदिने भन्दै नाराबाजी गरेपछि विवादले उग्ररुप लिएको हो।
जिल्ला सभापतिहरुको मागलाई वेवास्ता गर्दै पार्टी सभापति शेरबहादुर देउवाले ठाडै अस्विकार गरेर बैठक सुरु भएको औपचारिक घोषणा गरेपछि जिल्ला सभापतिहरु मञ्चमा नै उक्लिएर होहल्ला सहित हाता हालाहाल गर्ने स्थितिमा पुगेका थिए। जिल्ला सभापतिहरुले होहल्ला गर्न थालेपछि देउवाले हतारहतार बैठक स्थगित भएको घोषणा गरेका थिए ।
बैठक स्थगित भएको घोषणा गरेपछि मञ्चमा चढेका जिल्ला सभापतिहरुले आ–आफ्नो कुरा सुनाइरहँदा नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केसीको माइक प्रकाशसरण महतले खोसे। महतले माइक खोसे लगत्तै त्यहाँ हात हालाहालको स्थिति उत्पन्न भएको थियो।
महासमिति बैठकमा घम्साघम्सी परेपछि सभापति देउवासहितका नेताहरु कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भेला भएर विधान मस्यौदा माथि छलफल गरिरहेका छन्।


















