–निमकान्त पाण्डे–
नौ महिने कार्यकालका प्रधानमन्त्री केपी शर्मा ओली र दुईतिहाइ बहुमतको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली फरक व्यक्ति जस्ता महशुस हुन थालेका छन् । लोकप्रिय केपी शर्मा ओली र अलोकप्रिय केपी शर्मा ओली । नौ महिने कार्यकालमा माओवादी केन्द्रको सहयोगमा प्रधानमन्त्री बनेका ओली माओवादी केन्द्रकै कारणबाट पदच्यूत्त हुनुपरेको थियो । पदच्यूत्त नहुँदासम्म प्रधानमन्त्री ओलीका काम कति लोकप्रिय थिए ? लोकप्रिय कामहरू गर्दागर्दैको अवस्थामा माओवादी केन्द्रका तर्फबाट ओलीलाई पदच्यूत्त गर्न प्रचण्डबाट खेलिएको भूमिका सर्वत्र आलोचित बनेको थियो । भारतीय सहयोगबाट नै ओलीविरुद्ध कांग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको भन्नेसम्मको आरोप पनि लाग्ने गरेको थियो । ओलीका विरुद्ध भारतीय सत्तापक्षले गर्नसम्म जोड गरेर कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनाएको हो भन्ने कुरा धेरैपछिसम्म पनि पुष्टि भइरहेको थियो । ५ नं. प्रदेशको सिमांकनको विषयदेखि लिएर संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता हुँदा भारतबाट त्यसको स्वागत हुनेसम्मका घटनाहरूले भारतको स्वार्थलाई पुष्टि गरेको अवस्था थियो । आम नेपाली जनमानसको पनि बुझाइ पनि यही नै बन्न पुग्यो । यही कारणले गर्दा नै ओलीको लोकप्रियता चुलिएको पनि थियो ।
प्रधानमन्त्री ओलीले आफ्नो नौ महिने कार्यकालमा नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको रूपमा विकसित गराउनुपर्ने आवश्यकता महशुस गरेको सन्देश जनमानसमा पुगेको थियो । नेपाललाई आत्मनिर्भर तुल्याउन गर्नुपर्ने सबै किसिमका उपायहरू ओलीले अवलम्वन गरिरहेकोजस्तो पनि देखिन्थ्यो । पेट्रोलियम पदार्थ उत्खनन् गर्नेसम्मका अध्ययन अनुसन्धानहरू पनि भएका थिए । भारतीय नाकाबन्दीको मारमा परेका नेपाली जनताले अत्यन्त महत्वपूर्ण उपलब्धीका रूपमा देखिरहेको ओलीको कार्यशैली वास्तवमै नेपालको लागि अति आवश्यक थियो नै । नेपाललाई आत्मनिर्भर तुल्याउन नेपाली भूभागमा रहेका प्राकृतिक सम्पदाको सदुपयोग नै महत्वपूर्ण पक्ष हो । प्राकृतिक सम्पदाको अनुसन्धान र उत्खनन् गर्ने काममा उत्तरतिरको छिमेकी देश चीनले सहयोग गर्ने प्रतिबद्धता पनि दर्शाइरहेको थियो । तर ओली नेतृत्वको सरकार पदच्यूत्त भएपछि सबै प्रतिबद्धता र प्रयासहरू अधुरो रहन पुगेका थिए । प्रधानमन्त्रीको पदबाट बाहिरिने क्रममा संसदलाई सम्बोधन गर्दै ओलीले दिएको मन्तव्य नेपाली जनताका लागि निकै महत्वपूर्ण मानियो । ओलीले कांग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकारलाई आफ्ना आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने अभियानलाई अवरोध गर्ने काम भएको भनी आरोपित गर्नुभएको थियो । यस्तो आरोप ओलीले लगाइरहँदा नेपाली जनमानसमा ओलीप्रति श्रद्धाभाव जागेको थियो ।
पहिलो कार्यकालको लोकप्रियतामा ओलीलाई भारतको नाकाबन्दीले ठूलो सहयोग पु¥याएको थियो । भारतले नाकाबन्दी नलगाएको भए ओलीको देशभक्ति प्रदर्शन गर्न पाउने अवसर रहने थिएन । त्यसो भइदिएको भए ओलीको लोकप्रियता त्यतिबेलै समाप्त हुने थियो । महाकाली सन्धि गर्ने समयमै पनि केपी ओली भारतीय इशारामा प्रयोग हुने व्यक्तिका रूपमा चर्चित बनेका थिए । ओलीले आफ्नो राजनीतिक जीवनलाई महाकाली सन्धि गर्नेबेला निकै जोखिममा पारेका थिए । महाकाली सन्धिमा गुमेको छविलाई ओलीले भारतीय नाकाबन्दीका विरुद्ध लिएको अडानबाट चम्किलो बनाउन सफलता हासिल गरेका हुन् । यस्ता विविध कारणले लोकप्रिय बनेका केपी ओली दोश्रो पटक दुईतिहाइ बहुमत सहितको प्रधानमन्त्री बनेपछि अलोकप्रिय बन्ने क्रम अझै जारी छ ।
केपी ओलीको अलोकप्रियताले नेपालको कम्युनिष्ट आन्दोलनलाई समेत प्रभावित तुल्याइरहेको छ । जनताको मतबाट सत्तामा पुगेपछि कम्युनिष्ट नेताहरूले लोकप्रियता आर्जन गर्न सक्नु पर्दथ्यो । तर दुर्भाग्य नै भन्नु पर्दछ उल्टो बाटो ओलीको यात्रा जारी छ । ओली कसैका सुझाव सुन्ने पक्षमा देखिदैनन् । सबैलाई व्यंग्यात्मक शैलीमा जवाफ दिएर उडाउने कामलाई नै आफ्नो सफलता ठानिरहेका ओलीले जनतामा निराशा र आक्रोश फैलाइरहेका छन् । ओलीको कार्यशैलीले गर्दा एकातिर जनतामा निराशा बढाएको छ भने अर्कोतिर पटक–पटकका आन्दोलनहरूबाट धक्का खाँदै आएर ०६२÷०६३ को जनआन्दोलबाट देशको राजनीतिक धारबाटै अलग भएको राजसंस्थालाई पुनस्र्थापित गराउने अभियानलाई टेवा पु¥याउने काम गरिरहेको छ ।
कम्युनिष्ट सरकारले जनताका आवश्यकतालाई ध्यान पु¥याउनु पर्दथ्यो । नेपाली जनताले कम्युनिष्ट पार्टीलाई दुईतिहाइ बहुमतको नजिकमा पु¥याएर संविधान संशोधन गर्ने हैसियतमा समेत पु¥याएका छन् । परन्तु सरकारले जनताका आवश्यकतातर्फ ध्यान नदिएर नेताहरूको सुविधा बढाउने कामलाई प्राथमिकतामा राख्यो । जनतालाई करको भार थोपरेर नेताहरूलाई विलासी जीवन बिताउन अत्यन्त विलासिताका भौतिक सुविधाहरू उपलब्ध गराउने काम भइरहेको छ । पछिल्लो पटक आम रूपमा आलोचनाको विषय बनिरहेको राष्ट्रपतिको निजी प्रयोजनका लागि डेढ अर्ब रूपैयां खर्च गरेर हेलिकोप्टर खरिद काण्ड रहेको छ ।
जनताको दैनिकी बुझ्न पूर्व राजा ज्ञानेन्द्र देश भ्रमणमा निस्किएका छन् । लगभग बाह्र वर्षपछि राजसंस्थाको पक्षमा नाराबाजी सुरु भएको छ । राजा महाराजाहरूले गर्ने शैलीका विलासितापूर्ण जीवनको अनुशरण कम्युनिष्ट नेताहरूबाट भइरहेको अवस्थाले पूर्व राजाको पक्षमा नाराबाजी हुनु स्वाभाविक हो । पूर्व राजा ज्ञानेन्द्रले आफूलाई साधारण नागरिकका रूपमा रूपान्तरित गरेका हुन् नै ! पूर्व राजाको इष्र्या गरेर मात्र पुग्ने अवस्था अब छैन । राजाहरूको भन्दा विलासी जीवन कम्युनिष्ट नेताहरूको भइरहेको अवस्थाले कम्युनिष्टहरूको लोकप्रियता हराउँदै जाने अवस्था छ । पूर्वराजा ज्ञानेन्द्रका विरुद्धमा सडकबाट बाह्र वर्ष अगाडि लागेका नारा आजको अवस्थामा कम्युनिष्ट नेताहरूको विरुद्ध फर्केको स्थितिले नेताहरूलाई आत्मसमिक्षा गर्न सन्देश गरेको छ ।
राजनीतिमा आन्तरिक व्यवस्थालाई लिएर ठूला ठूला राजनीतिक परिवर्तन भए पनि अर्थतन्त्रको विकासका लागि खासै महत्वपूर्ण प्रयास भएको छैन । राजनीतिक आन्दोलन र व्यवस्था परिवर्तनसँगै सत्तामा पुग्ने हरेक नयाँ राजनीतिक शक्तिका नारा आर्थिक समृद्धि र विकास नै हुने गर्छन् । वर्तमान ओली सरकारले पनि समृद्धि र विकासका नारा दिइरहेको छ । तर आर्थिक समृद्धि र विकासको मेरुदण्ड मानिने अर्थतन्त्रको विकास कसरी गर्ने भन्ने तर्फ सरकारको कार्ययोजना स्पष्ट छैन । देशमा राजनीतिक परिवर्तनका हिसाबले ००७ साल, ०१७ साल, ०३६ साल, ०४६ साल हुँदै ०६२/०६३ र ०७२ सालहरू नेपालको इतिहासमा महत्वपूर्ण मानिन्छन् । सबैखाले परिवर्तनको लक्ष्यलाई पुरा गर्ने एउटै लक्ष्य भने आत्मनिर्भर अर्थतन्त्र नै हो । सबल र आत्मनिर्भर अर्थतन्त्र बिना जस्तासुकै राजनीतिक परिवर्तन भए पनि मुलुक र जनताले त्यसको अनुभूति गर्न पाउँदैनन् । नेपालको विकासको पूर्वाधार नेपालको जलसम्पदा हो । नेपालको जलसम्पदाको सदुपयोग गर्न सक्ने हो भने नेपाललाई पेट्रोलियम पदार्थको आवश्यकता पर्ने थिएन । सवारी साधनका लागि इन्धन र उद्योगहरूका लागि समेत विद्युतको काम नेपालको जलसम्पदाबाटै पु¥याउन सकिन्छ । त्यसतर्फ सरकारको कुनै कार्ययोजना भएको पाइदैन ।
लामो समयदेखि हुँदै आएका राजनीतिक परिवर्तनहरूबाट जनता सन्तुष्ट हुन नसक्नुको कारण के हो ? कम्युनिष्ट पृष्ठभूमिका नेताहरू सत्तामा पुगेका बेला जनतामा जुन किसिमको निराशा फैलाउने काम भइरहेको छ, यो अत्यन्त आपत्तिजनक र निन्दनीय छ । आगे नेताजीहरूलाई चेतना भया !


















