वैज्ञानिक ट्याक्सी भाडादर कायम गर्न चालकहरुको माग

117

काठमाडौं / उपत्यका संयुक्त ट्याक्सी चालक व्यवस्थापन समितिले वैज्ञानिक भाडा समायोजन दर तोक्न सरकारसँग माग गरेको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर मिटर समायोजन–२०६९ लाई परिमार्जित गरेर वैज्ञानिक रुपमा भाडादर कायम गर्न सरकारसँग माग गरेको हो । वरिष्ठ ट्याक्सी चालक पूर्ण तामाङले वर्तमान सरकार मजदुरहरुको हितमा विपरित काम भएको आरोप लगाएका छन् ।

उनले भने,‘सरकार ट्याक्सी चालकलाई आफ्ना नागरिक होईनन्, जस्तो व्यवहार गरिरहेको छ, अर्को हामीले परिवर्तनका लागि पार्टीको झण्डा बोक्यौं, पसिना र रगत बगायौं तर आज हाम्रा अधिकारका बारेमा कुनैपनि राजनीतिक दल गम्भिर छैन्, बोल्न तयार छैन् ।’

सरकारसँग आफूहरुले वैज्ञानिक रुपमा भाडादर कायम गर्न माग गरेको सुनाउँदै उनले भने,‘आन्दोलनमा उत्रेर बाधा सिर्जना गर्ने हाम्रो सोच होईन, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि सरकारले पालना गरोस् भन्ने हाम्रो माग हो, २०६९ सालमा समायोजन गरिएको भाडादर आजका दिनमा पनि उही छ, के यातायाता विभागका महानिर्देशकले २०६९ सालमा खाने गरेको तलव आजका दिनमा पनि त्यही तलव खाईरहेका छन ? हाम्रो बारेमा सोच्नुपर्दैन ?

त्यस्तै अर्का चालक राम थापाले ट्याक्सी चालकहरुमाथि भैरहेको आक्रमणप्रति सरकार गम्भिर नभएको आरोप लगाए । उनले भने,‘सरकारले हामीलाई कारबाही गरिरहेको छ, हामीले चर्को रुपमा कर तिरेका छौं, तर सरकारले हाम्रो सुरक्षा दिन सकेको छैन्, हिजोमात्रै एकजना ट्याक्सी चालक साथीको आँखा फोडिएको छ, केही दिन अघि सुर्यविनायकमा ज्यान लिनेगरि आक्रमण भएको थियो, यस्तो गम्भिर हत्या र हिंसामा संलग्नलाई सरकारले किन कारबाही गर्न सकेको छैन् ?’

उनले अघि थपे,‘हरेक चिजको मुल्यबृद्धि भएको छ, २०६९ सालमा ट्याक्सीको रुट परमिट लिँदा दुई सय ५० तिर्नुपथ्र्यो, अहिले पाँच सय तिर्नुपर्छ, जाँचपास ५० थियो, अहिले दुईसय तिर्नुपर्छ, ईन्सुरेन्स तेस्रो पक्षलाई पाँचसय थियो भने अहिले ७ हजार ८ सय छ, फुल ईन्सुरेन्सको लागि ३४ हजार छ, तीन वर्ष पहिले बैंक ब्याजदर ८.२५ प्रतिशत थियो, अहिले १३ देखि १५ प्रतिशत पुगेको छ, ६ हजार कर बढेर १३ हजार पुगेको छ, नयाँ कम्पनी दर्ता गर्दा १५ हजार लाग्छ, यस्तो स्थितिलाई नदेख्ने तर केही ट्याक्सी चालकका सामान्य कमजोरीलाई लिएर सिङ्गो ट्याक्सी चालकको भावनामाथि चोट पुग्ने खालको सम्बोधन गर्ने ?’

सरकारले आफूहरुलाई नहेरेको र नेताहरुले पनि झण्डामात्रै बोकाएको उनको गुनासो छ । उनले अघि भने,‘अब हाम्रो अभिभावक भनेको पत्रकारमात्रै हो, तपाईहरुले खोज अध्ययन गरेर ट्याक्सी चालकको बारेमा जान्नुहोस्, मेरो आग्रह छ, विकसित राष्ट्रमा न्युनतम फ्ल्याक डाउन तीनदेखि चार किमीसम्मको सूरुमै मिटरमा पैसा उठ्ने व्यबस्था हुन्छ, तर हाम्रोमा जम्मा १४ रुपैयाँ मात्रै उठ्छ, यस उदाहरणलाई हर्ने हो भने नजिकमा जाने यात्रुलाई बोक्न चाहँदैनन्, सरकारले कारबाही गर्छ, यो अवैज्ञानिक कारबाहीको भागिदार कहिलेसम्म हुने ?

कार्यक्रममा बोल्ने अधिकाशं ट्याक्सी चालकहरुले उपभोग्य वस्तुको मूल्य वृद्धि भएको, सरकारले वैज्ञानिक र मेकानिजम तवरबाट जरिवाना र कारबाही गर्नुपर्ने, रात्रिकालिन समयमा ट्याक्सी चलाउने चालकहरुको सुरक्षा गरिनुपर्ने, प्रत्येक वर्ष ट्याक्सीको भाडा समायोजन हुनुपर्ने, ट्याक्सीको काम निजी प्रयोजनका सवारीसाधनले गर्न नदिनुपर्ने, उचित रुपमा संख्यागत आधारमा ट्याक्सीको पार्किङ गर्ने व्यवस्थापन हुनुपर्ने लगायतका मागहरु राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here