काठमाडौं / राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले आफ्नो महान पर्व क्रिसमसको विदा कटौती गरेकोमा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गरेको छ ।
विहिबार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले पत्रकार सम्मेलन गरेर क्रिसमसको दिन अर्थात पुस १० गते (डिसेम्बर २५) लाई सरकारी बिदा दिन सरकारसँग माग गरेको छ ।
राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका अध्यक्ष सिबि गहतराजले ३० लाख नेपाली ख्रीष्टियनहरुको भावनामाथि प्रहार हुनेगरि सरकारले बिदा कटौती गरेको आरोप लगाए ।
उनले भने,‘सरकार ईतिहासकै कमजोर र निकम्बा बन्दै गैरहेको छ, नेपालका हरेक धार्मिक आस्थाका नागरिकहरुको अधिकार सुरक्षित हुनुपर्छ, संविधानले पनि त्यसको व्यवस्था गर्नुपर्छ, तर मुलुकी ऐन १९९० लाई परिमार्जित गर्दै वर्तमान सरकारले ल्याएको मुलुकी ऐन २०७४ ले हाम्रा अधिकारहरु कटौती गरेको छ, परिच्छेद ९ को १५७, १५८ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संन्धि सम्झौताहरुको विपरित छ, मानव अधिकारविपरित छ, हामी सम्पूर्ण धर्म र संस्कारलाई सम्मान गर्ने ख्रीष्टियन हौं ।’
उनले भने,‘नेपालमा ख्रीष्टियनको नाममा अनेकन भईरहेका छन्, असली नेपाली ख्रीष्टियनहरुको बद्नाम गर्न लागिपरेका छन्, यस्ता गलत तत्वहरुलाई सरकारले नै साथ दिएको छ, यो तरिका भएन, दोषीमाथि कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
उनले अघि थपे,‘एशिया प्यासिफिक समिट २०७५ को सह–आयोजक बनेर सरकारले उपस्थिति जनायो, हामीले त्यो कार्यक्रममा भन्दा पहिले नै ख्रीष्टियन समुदायको बद्नाम गर्ने र बाईबलको बिरुद्धमा उक्त समिटको आयोजना गरिँदै भनेर सुझाव दिँदासमेत पूर्व प्रधानमन्त्री बनेका नेताहरुले विश्वास गर्नुभएन, आज त्यसको चौतर्फी विवाद चलेको छ, नेकपाका नेता भीम रावल उक्त समिटको विपक्षमा उभिनुभयो, हामी ३० लाख ख्रीष्टियनहरु उहाँको पछि छौं।’
एशिया प्यासिफिक समिटको बिरोधमा उत्रेका अध्यक्ष गहतराजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली ख्रीष्टियनको भावनाविपरित काम नगर्न चेतावनी दिए ।
ख्रीष्टिमसको विदा दिनुपर्ने, नेपाल सरकारलाई बुझाएको ६ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्ने, तीनबुँदे सहमतिअनुसार तत्काल समाधिस्थलको व्यवस्था गर्नुपर्ने, मुलुकी ऐन–२०७४ मुलुकी अपराध संहिताको परिच्छेद ९ को १५७ र १५८ मा भएका अल्पसंख्यक धार्मिक समुदायलाई हतोत्साही बनोउने काम बन्द गर्नुपर्नेलगायतका मागहरु महासंघले अघि सारेको छ ।

















