काठमाडौँ, सरकारले विभिन्न देशमा रिक्त रहेका राजदूत पदमा पाँच सहसचिवलाई नियुक्तिका लागि सिफारिश गरेको छ ।
सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि आवासीय तथा क्याम्बोडिया, लाओस, भियतनाम र सिङ्गापुरका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिश गरेको छ । साथै उहाँलाई एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक र सामाजिक आयोग र एशिया इन्स्टिच्युट अफ टेक्नोलोजीका लागि स्थायी प्रतिनिधिसमेत तोक्ने निर्णय गरेको छ ।
त्यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको स्थायी प्रतिनिधि एवं स्वीट्जरल्याण्डका लागि आवासीय र इटाली, सानमारियो तथा लिस्टेन्स्टाइनका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिश गरेको छ । उहाँलाई विश्व व्यापार सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनका लागि स्थायी प्रतिनिधि तोकिएको छ ।
परराष्ट्र मन्त्रालयकै सहसचिव भृगु ढुङ्गानालाई क्यानाडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिश गरिएको छ । सरकारले उनलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनका लागि स्थायी प्रतिनिधि तोकेको छ ।
परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिश गरिएको छ । साथै उनलाई युनेस्कोका लागि स्थायी प्रतिनिधिसमेत तोकिएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिश गरिएको छ ।
उनलाई एशियन कोपरेशन डाइलगका लागि स्थायी प्रतिनिधि तोकिएको छ । ती मुलुकमा हाल कार्यरत राजदूतलाई सम्बन्धित मुलुकबाट प्रस्तावित राजदूत नियुक्तिको सहमति प्राप्त नभएसम्म सो मुलुकको राजदूतका रूपमा कामकाज गरिरहन स्वीकृति दिइएको छ ।
सरकारले दक्षिण कोरिया, स्पेन र बङ्गलादेशका लागि नेपाली राजदूत क्रमशः अर्जुन जङ्गबहादुर सिंह, भरतबहादुर रायमाझी र प्रा डा चोपलाल भुसाललाई तीन हप्ताको तयारी म्याद दिइ फिर्ता बोलाउने निर्णय गरेको छ ।


















