एजेन्सी/टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीलाई पराजित गर्दै लिगको दोस्रो स्थानमा
उक्लिएको छ ।
मंगलबार राति कार्डिफकै घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले ३—० गोलले सहज रुप जित दर्ता गर्न सफल भएको छ । जितमा हृयारी केन, क्रिष्टियन इरिक्सेन र सोन हेयुङ मिनले समान १—१ गोल गरेका थिए ।
खेलको तेस्रो मिनेटमा नै केनले गोल गर्दै टोटनहृयामलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा इरिक्सेनले गोल गर्दै टोटनहृयामलाई दोब्बर अग्रता दिलाए ।
एकपछि अर्को दबाब बनाउदै कार्डिफमाथि जित हात पार्ने क्रिममा मिनले खेलको २६ औं मिनेटमा गोल गरेपछि टोटनहृयामले ३—० गोलको अग्रता बनाएको थियो ।
पहिलो हाफमा तीन गोलको अगाडी रहेको टोटनहृयामले दोस्रो हाफमा थप गोल गर्न सकेन । यता, कार्डिफ भने टोटनहृयामविरुद्ध निकै निरिह बन्यो ।
जितसँगै टोटनहृयाम लिगको दोस्रो स्थानमा उक्लिएको छ । टोटनहृयामले २१ खेलबाट ४८ अंक
बटुल्न सफल भयो । पराजित कार्डिफको भने २१ खेलबाट १८ अंक मात्रै छ ।
लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको २० खेलबाट ५४ अंक रहेको छ । भने लिगको तेस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको २० खेलबाट ४७ अंक रहेको छ ।

















