काठमाडौं / महानगरीय प्रहरी परिसर काठमाडौंले चिसोसँगै सडकमा रात बिताउन बाध्य भएका असहाय वृद्ध, वृद्धा तथा बालबालिकाको उद्धार तथा पुर्नस्थापना अभियान मंगलबार रातिबाट सुरु गरेको छ ।
उक्त अभियान अन्तर्गत कालिमाटी, स्वयम्भू, सितापाईला क्षेत्रबाट मंगलबार राति ७ जना पुरुषको उद्दार गरी हिमालय वृद्धाआश्रम, गोंगबुमा राखिएको छ । उद्दार गरिएका ब्यक्तिहरुको परिवार तथा आफन्तको खोजी, आवश्यक उपचार, परामर्श समेत गरी पुनस् समाज तथा परिवारमा पुर्नस्थापना गर्ने कार्यमा प्रहरीले बिभिन्न संघ-संस्थासँग संमन्वय गरिरहेको छ ।
काठमाडौंको सडकलाई व्यवस्थित, सुरक्षित बनाउने र सडकमा जीवन यापन गर्न बाध्य मानिसहरुको जिवनमा परिवर्तन ल्याउने जस्ता मानविय कार्य विभिन्न संघ-संस्था, सरकारी निकायसँग समन्वय गरि निरन्तरता दिने कार्य जारी राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


















