– डा.दीपेन्द्र रोकाया
नेपालकाे संविधानको धारा ३३ ले प्रत्येक नागरिकलाई रोजगारीको हक हुने कुरा उल्लेख गर्नुको साथै रोजगारी समेत छनौट गर्न पाउने हक प्रदान गरेको छ । एवं तरिकाले धारा ३४ ले श्रमिकको परिभाषा सहित पारिश्रमिक सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षाको हक उल्लेख गरेको छ । संविधानका धारा ३३ र ३४ का आधारमा केन्द्रित भई हेर्दै जाँदा वर्षेनी ५ लाख युवाहरू श्रम बजारमा देखा पर्दछन् । तर उनीहरूलाई नेपाल सरकार तथा शहर बजारमा स्थापित कलकारखाना र श्रम प्रतिष्ठानले रोजगार उपलव्ध गराउन सक्तैनन् । परिणामतः हवाई जहाज चढेर दैनिक दिन १५०० युवाहरू कामका लागि खाडीतिर गईरहेका छन् । नेपालीहरूको लागि यो सबैभन्दा ठुलो पीडाको विषय हो ।
म आजकल कर्नाली प्रदेशको सुर्खेतमा छु । म आफै पनि ११ वर्षको उमेरमा २२ दिन खाली खुट्टा हिडेर वैतडीको झुलाघाट पुल तरेर काला पहाड छिरेको थिएँ । त्यसयता मैले भारततिर छिर्ने कर्नाली प्रदेशतिरका युवाहरूको मनोदशा हेरीरहेको छु, उनीहरूले भारतका गल्लीहरूमा कस्तो खालको जीवन खेप्न परिरहेको छ ? यो विरासत फेर्न के गर्नु पर्दछ ? यसै सेरोफेरोमा रहेर चिन्तन मनन गर्न आवश्यक छ । वि.संं. २०६८ को जनगणना अनुसार कर्नाली प्रदेशको कुल जनसंख्या १५,७०४१८ रहेको छ । जसमध्ये ५२.४९ प्रतिशत वालवालिका, सक्रीय युवा ४१.४ प्रतिशत र ६.११ प्रतिशत जेष्ठ नागरिक रहेको देखिन्छ । यो आधारमा हेर्दा सबभन्दा बढी वालवालिका छन्, उनीहरू भोलिका जनशक्ति हुन्, विद्यालय जान्छन्, घरमै बस्छन् । त्यसपछि युवाहरू छन्, उनीहरूलाई कमाई खाने जमीन कम छ, त्यसमा कुल भूगोलको १८ प्रतिशत मात्र जमीन खेतीयोग्य छ भन्ने गरिन्छ । यसले गर्दा आफ्नो काम सकिएपछि रोजगारका लागि कालापहाडतिर छिर्छन् । अनि जेष्ठ नागरिकहरूले घर कुरेर अभिभावकत्व दिनै पर्यो । यस तथ्यले हामीलाई थप चिन्तन गर्न परिरहेको छ ।
मान्छेहरू आपतका घडीमा हे भगवान भन्ने गर्दछन् । भगवान भनेका को हुन् ? भनेर खोज्दा विभिन्न नामले पुजा गरिनेहरू भगवानका रूपमा देखा पर्दछन् । म उनीहरूलाई तत्कालीन नेतृत्व मात्र ठान्दछु । उनीहरूलाई सम्झेर आजको समस्या समाधान हुँदैन, तर कतिपति पूर्व कार्य समीक्षाका लागि ती सामाग्री उपयोगी हुन भने पक्कै सक्तछन् । यसैले अहिले खोज्दा भेटिने भगवान भनेका दैनिकदिन प्रकृतिसँग जुधेर आफ्नो जीविकोपार्जन गरी डाँडामाथिका जुनवेल बनेका जेष्ठ नागरिकहरू हुन् भन्ने लाग्दछ । व्यक्तिगत रूपमा आफ्ना आमाबाबु पनि भगवान हुन् । उनीहरूले प्रकृतिबाट सिकेका र परिवर्तित सन्दर्भ समीक्षा गरी केही अर्ति दिन सक्छन् भन्ने लाग्दछ । यसैले म उहाँहरूलाई सम्मान गर्न र अर्ति लिन आवश्यक ठान्दछु । उहाँहरूले दिनु भएको अर्ति उपदेश हेर्दा अन्धविश्वास जस्तो पनि लाग्न सक्छ, तर तिनलाई विज्ञान र प्रविधिले गरेको विकाससँग युवाहरूले जोड्न पर्दछ ।
आजका युवाहरू यति धेरै निराश, अराजक र आफ्नो समाजमा श्रमप्रति सम्मान नगर्ने तर पराई भूगोलमा गएपछि तल्लो स्तरको काम समेत गर्न तयार हुनुको मुल कारण के हो ? कसैले भन्छन्, त्यहाँ पुगेपछि आफ्ना छिमेकीहरूले देख्दैनन् । कसैले भन्छन्, बाँच्नुको बाध्यता हो । यसको सबभन्दा जिम्मेवारकारण नेपाली राजनीति हो । नेपालको राजनीतिले एक पटक सपना देख्न लगायो, सपना तयार भयो तर त्यसलाई व्यवस्थापन गर्न सकेन । हुन त यसले कहिल्यै कल्पना नगरेको परिवर्तन समेत गरायो तर सही व्यवस्थापन गर्न सकेन । कुन अधिकारको कुरा हो ?, कुन मुद्दा कसरी उठेको हो ? र कुन चासो कहाँबाट उठान भएको हो ? भन्ने आधारमा व्यवस्थापन गर्न सकिएन । परिणामतः आज फिलिपिन्सका युवाहरूजस्तै वैदेशिक रोजगारलाई मेरो देशले गन्तव्य बनाइरहेको देखिन्छ । यो देश असफल हुने गन्तव्य हो । विगत पाँच हजार वर्षको अवलोकन गर्दा बाँच्नका लागि होस्, वा कुनै महत्वकांक्षाले द्वन्दमय इतिहासको बोध गराउँछ । आजको विश्व पनि द्धन्द्धग्रस्त नै छ । युवाहरू केन्द्रित नीति बनाउन नसक्दा आउने परिणाम भयावह हुन्छ । यसैले हामीले कर्नालीका युवाहरूको बारेमा के कुरामा बढी केन्द्रित हुन आवश्यक देखिन्छ भने विद्यमान अवस्थामा रोजगारका क्षेत्रहरू के छन् ? स्वरोजगारका संभावनाहरू के कति छन् ? पहुँच विस्तारमा के गर्न पर्ला ? आर्जेका सिपको सदुपयोग कसरी गर्न सकिएला ? जस्ता विषयमा केन्द्रित हुन परेको थियो । त्यसपछि साना तथा घरेलु उद्योगदेखि मेगा आयोजनाहरूको सिर्जनमामा जोड दिनु पर्दछ । अरवको खाडी र कोरियातिर लागेको नेपाली युवाहरूको लाइन कर्नालीतिर के गरी फर्काउन सकिएला ? भन्ने सम्मको कुरा सोच्न पर्दछ ।
यसरी हेर्दा हामीले कर्नालीमा कम्तीमा एक हजार युवालाई विकास निर्माण दलको रूपमा परिक्षण गराउन सक्यौ भने एउटा आशाको किरण फैलाउन सक्छौ कि भन्नेमा बहस चलाउन परेको छ । यसो गर्नका लागि हामी मुलतः कार्यविधि बनाउन र लागु गर्न पारंगत त हुनै पर्दछ । जनताको मागअनुसार सम्बोधन गर्न राजनैतिक नेतृत्वसँगै प्रशासनिक नेतृत्वले काम गर्न पर्दछ । आलोचना गर्नेहरू आलोचनाका लागि मात्र जन्मेका हुन्छन् । काम गर्नेहरूले सक्दासम्म सबैले अपनत्व हुने गरी, त्यही पनि भएन भने राम्रो नियतले अगाडि बढ्न सकियो भने रोकिएका कामहरू बन्न थाल्दछन् । त्यसपछि सत्कर्मले जित्छ, परिवर्तनको ढोका खुल्दछ ।-जनधारणा साप्ताहिक


















