प्रधानमन्त्रीको फोटोमा कालो पोतेर अभिनन्दन कार्यक्रमको विरोध

283

इलाम / प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने कार्यक्रम विवादित भएको छ । इलाममा लगानी भित्र्याउने उद्देश्यका लागि शुक्रबार हुन लागेको लगानी सम्मेलनमा ओलीलाई अभिनन्दन गर्ने कार्यक्रमको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले विरोध जनाएपछि सम्मेलन कार्यक्रम नै विवादमा परेको हो।

नेपाली कांग्रेस इलामका अध्यक्ष हिमालय कर्माचायले विज्ञप्ति निकालेर अभिनन्दन कार्यक्रमको विरोध जनाएका छन् ।

खस्कदो शान्ति शुरक्षा, अनियन्त्रित हत्या, बलात्कार र संस्थागत भ्रष्टाचार लगायतका कारण विवादमा आइरहेका प्रधानमन्त्रीको अभिनन्दनले इलामबासीको मान मर्यादा र चेतनाको अवमूल्यन हुने कांग्रेसको विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले आफ्ना सबै तहलाई अभिनन्दन कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । बिहीबार साँझ कांग्रेसले नगरभरि पर्चा छरेको छ । कार्यक्रमको प्रचारका लागि टाँगिएका पर्चामा प्रधानमन्त्री ओलीको तस्बिर राति नै कालो पोतिएको छ ।

कांग्रेसको विरोधपछि इलामको टुँडीखेलमा हुने भनिएको अभिनन्दन कार्यक्रम सम्मेलन स्थल गौतमबुद्ध सभागृहमा सरेको नगरपालिकाले जनाएको छ ।

टुँडीखेल, चोक बजार र कांग्रेस पार्टी कार्यालय अगाडि प्रहरी तैनाथ गरिएको छ ।

लगानी सम्मेलन इलाम नगरपालिका, उद्योग बाणिज्य महासंघ, उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ र इलाम उद्योग वाणिज्य संघको संयुक्त आयोजनमा गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here