कालिकोट/कालिकोटको पलाता गाउँपालिका–१, खाँडामा भएको आगलागीमा संलग्न भएको आशंकामा प्रहरीले विवादास्पद छविका वडा सचिवलाई पक्राउ गरेको छ । गाउँपालिकाको ६ वटा वडा कार्यालयको जिम्मेवारी सम्हालिरहेका विष्णुकान्त प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ । ८ पुसको मध्यराति आगलागी हुँदा ३२ घर जेलर नष्ट भएको थियो ।
शनिबार साँझ पक्राउ गरेर अभद्र व्यवहार अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले पुष्टि गरका छन् । ‘अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि हिजो नियन्त्रणमा लिएका हौं’, ‘कसुर पुष्टि भए थप कारबाही हुने जानकारी दिएका छन् ।’ प्याकुरेल पहिले गाविस सचिव थिए । उनीविरुद्ध प्रहरीमा बारम्बार उजुरी आइरहने गरेको स्रोत बताउँछ । प्रहरी स्रोतका अनुसार मदिरा सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा उनीमाथि प्रहरीले यसअघि पनि अनुसन्धान गरिसकेको छ ।
उनी स्थानीय एक खानेपानी उपभोक्ता समितिको अध्यक्षसमेत हुन्। तर, खानेपानीको योजना लामो समय बितिसक्दा समेत पूरा नभएको स्थानीयहरुको भनाइ रहेको छ ।
अनुसन्धान अधिकारीहरुका अनुसार स्थानीय नवीन न्यौपानेको घरमा त्यसदिन राति साढे १२ बजेसम्म पार्टी चलेको थियो । खानेपानी ट्यांकीको उद्घाटन भएको खुशियालीमा वडासचिव प्याकुरेलकै आयोजनामा पार्टी गरिएको थियो । पार्टीका मदिरा, खसी, ह्याकुलोलगायत राखिएको उपस्थित व्यक्तिहरुले प्रहरीलाई बयान दिएका छन् । पार्टीकै क्रममा एक जनाले चुरोट सल्काएर फ्याल्दा आगलागी भएको प्रहरीको निश्कर्ष छ । र्टीमा सथानीय वडाध्यक्षदेखि विद्यालयका शिक्षकसम्म सहभागी भएको स्रोत बताउँछ । उनीहरुमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गाउँपालिकाले बुझाएको क्षतिको विवरण अचाक्ली धेरै आएपछि प्रहरीले त्यसमाथि पनि अनुसन्धान गरेको थियो । प्रहरीका अनुसार आगोमा ३२ घर जलेर नष्ट भएता पनि २३ घर मात्र राहत लिन योग्य भेटिएका थिए । जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका अनुसार, ‘एकैठाउँमा जोडिएको टहरोलाई पनि दाजु, भाइ बस्ने भनेर राहत लिन धेरै क्षति देखाइएको भेटियो । त्यसपछि २३ परिवारलाई मात्र राहत दिइएको हो ।’
स्रोतका अनुसार घटनामा सबैभन्दा बढी क्षति आफ्नो भएको वडासचिवले दाबी पेश गरेका छन् । उनले बाँड्न ल्याएको ४ लाख ३ हजार ५ सय रुपैयाँ, कार्यालयको आई सेभन ल्यापटप, मोबाइल, क्यामरालगायत जलेर नष्ट भएको उल्लेख गरेका छन् । कार्यालयको १०र१५ वर्षदेखिको कागजात पनि नष्ट भएको उनले बताएका छन् । तर, आफ्ना कतिपय व्यक्तिगत सामग्री उनले पहिल्यै बाहिर निकालिसकेको भेटिएको प्रहरी बताउँछ । त्यसैले उनलाई प्रहरीले मुख्य शंकास्पद व्यक्ति मानेको छ ।


















