– पुष्प गोपाल श्रेष्ठ
२०५२ फाल्गुण १ को दिर्घकालिन जनयुद्ध राष्ट्रघाती सरकारको विरुद्ध लक्षित थियो । एउटा त्यस्तो सरकारको विरुद्ध लक्षित थियो जस्ले साम्राज्यवाद तथा विशेषतः भारतीय विस्तारवादसँग साँठगाँठ गर्दै उनको नीति निर्देशन अनुसार राष्ट्रिय हितलाई बेच्दथ्यो, र जनतामाथि अत्याचार गर्दथ्यो । यस्तो सरकारको विरुद्ध संघर्ष गर्नु र लड्नु आवश्यक थिएन ? आवश्यक थिएन भने २०५२ फाल्गुण १ को जनयुद्ध गलत थियो । के कुरा टड्कारो छ भने यस्तो सरकारको विरुद्ध लड्नै पर्छ, राष्ट्रघाती सरकारको तख्ता पल्टाउनै पर्छ । तर उक्त राष्ट्रघाती जनतामारा संसदीय सत्ता ढल्दै गर्दा, दक्षिणपन्थी अवसरवादी नेता तथा कार्यकर्ताहरुको गद्दारीले गर्दा, उल्टो जनवादी क्रान्तिलाई गम्भिर धक्का दिई पछिल्तीर धकेल्न पुगेको थियो ।
वर्तमान देशको राजनैतिक वस्तुस्थिति पूर्व माके एमालेमा विलय हुन पुगेपछि निर्माण गरिएको यो कथित बाम तथा कम्युनिष्ट सरकारले विकास र समृद्धिका जति राग अलापे पनि देश र जनताका राष्ट्रिय स्वाधिनता र जनजीवीकाका समस्या समाधान गर्ने कुरो उसको बसमा छैन भन्ने कुरो त वर्तमान सरकारको नीति, कार्यक्रम र बजेटले नै दिनको घाम जतिकै प्रष्ट पारिसकेका छन् । भन्नुको मतलव, उक्त नीति, कार्यक्रम र बजेटको खास मक्सद भन्नु नै दलाल नोकरशाहि पूँजीपतिवर्ग तथा सामन्तिहरुको सेवामा समर्पित रहेको छ ।
यतिखेर हामीले तयारी गर्दै गरेको क्रान्तिको सार वस्तुहरु, युवावर्गमा यथेष्ट रुपले स्पष्ट हुनेगरि राखिदिनुपर्छ, जस्ले गर्दा उनीहरुमा क्रान्तिकारी हौसला बुलन्द भई आत्मवलिदानिसाथ क्रान्तिको ज्वाला बनि निरन्तर क्रान्तिकारी पठमा अघि बढ्न सकून नेपाली क्रान्ति के को विरुद्ध लक्षित छ ? क्रान्तिका निशानाहरु के के हुन् ? एउटा निशाना साम्राज्यवाद, विस्तारवाद हो र अर्को निशाना सामन्तवाद तथा दलाल नोकरशाहि पूँजीवाद हो । अहिलेको हाम्रो क्रान्तिका निशानाहरु के के हुन् ? एउटा निशाना भारतीय विस्तारवाद हो र अर्को निशाना विस्तारवादका नेपाली दलालहरु हुन् । क्रान्तिको निम्ति हामीले भारतीय विस्तारवाद र नेपाली देशद्रोहिहरुको तख्ता पल्टाउनै पर्छ । अब आउँछ कुरो, क्रान्ति गर्नेहरु को हुन् ? क्रान्तिको मुख्य शक्ति के हो ? ती नेपाली आम जनसमूदाय हुन् । अनि क्रान्तिका प्रेरक शक्तिहरु भनेका सर्वहारा वर्ग, किसान समूदाय र साम्राज्यवाद, विस्तारवाद र दलाल नोकरशाहि पूँजीवाद तथा सामन्तवादको विरोध गर्न चाहने अरुवर्गका सदस्यहरु हुन्, साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद तथा दलाल नोकरशाहि पूँजीवादको विरोध गर्ने क्रान्तिकारी शक्तिहरु यिनै हुन् ।
युवावर्गमा प्रस्टिनु पर्ने कुरो, नेपालको वर्तमान चरणमा हाम्रो अभिभारा समाजवाद लागु गर्नु होइन, वर्तमान चरणको हाम्रो अभिभारा हो दक्षिणपन्थी नवसंशोधनवादमा पटन हुनु पुगेका ती गद्दारहरुको धोका ढडिले गर्दा नेपालमा नयाँ जनवादी क्रान्तिले गम्भिर धक्का खाई अधुरोरहि रहेको थियो र आज त्यहि जनवादी क्रान्तिलाई पूर्णतामा धाल्नु, साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद तथा दलाल नोकरशाहि पूँजीवादलाई ध्वस्त पार्नु, नेपालको वर्तमान अर्धसामन्ति, अर्धऔपनिवेशिक तथा नव औपनिवेशिक स्थितिलाई बदलेर नेपालमा संघीय जनगणतन्त्रिय व्यवस्था स्थापना गर्नु छ । सिङ्गै देशका युवाहरुले यसैका निम्ति प्रयत्न गर्नुपर्छ ।
०६३ सालमा जनयुद्धको जनमा उठेको दोश्रो जनआन्दोलनले राजतन्त्रलाई उखेलेर फालेन र ? फालेको हो, तैपनि त्यो क्रान्ति कुन अर्थमा विफल थियो भने यसले राजालाई सत्ताबाट मुन्ट्याएता पनि, यसले नेपाललाई साम्राज्यवाद, विस्तारवाद, दलाल नोकरशाहि पूँजीवाद तथा सामनत वादी उत्पीडनमै छाडिदियो, जसले गर्दा साम्राज्यवाद विरोधि, विस्तारवाद विरोधी, दलाल नोकरशाहि पूँजीवादी तथा सामन्तवादी विरोधी क्रान्तिकारी अभिभारा अधुरै रह्यो । यसो हुनुको कारण के थियो त ? यसो हुनुको मुख्यतः दुईता कारणहरु छन् । एउटा कारण हो, क्रान्तिकारीहरु दक्षिणपन्थी नवसंशोधनवादीहरुको धुत्र्याइपूर्ण कार्यविधिहरुबाट पुरै बेखवर भनेजस्तो भई बस्नु । दोश्रो कारण हो युवा बुद्धिजीवीहरु र विद्यार्थीहरुमा बढि भरपर्नु, मुख्य शक्तिमाथि त्यति भर नगर्नु । उसोभए मुख्य शक्ति कुन हो त ? मजदुरहरु र किसानहरु मुख्य शक्ति हुन् । हामी जनसंख्याको ९० प्रतिशत भएका मजदुरहरु र किसानहरुको माझमा जानैपर्छ र तिनलाई सञ्चालित र संगठित गर्ने तर्फ विशेष जोड गर्नुपर्छ ।
मजदुरहरु रकिसानहरुको यो मुख्य शक्ति बेगर साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद तथा दलाल नोकरशाहि पूँजीवाद विरोधि हाम्रो संघर्षमा विजय प्राप्त गर्न सक्दैनौ । तन्नेरी बुद्धिजीवीहरु र विद्यार्थीहरु माथि मात्र भर परेर हामी यस संघर्षमा विजय प्राप्त गर्न सक्दैनौ । त्यसैले देशभरिका तन्नेरि बुद्धिजीवीहरु र विद्यार्थीहरुले मजदुरहरु र किसानहरुका व्यापक जनसमूहहरुसँग एकतावद्ध भएर एक ज्यान हुनुपर्दछ । र त्यसपछि मात्र एउटा बलियो शक्ति, करोडौं मानिसहरुको एउटा शक्तिको सिर्जना गर्न सकिन्छ र हाम्रो संघर्षमा विजय प्राप्त गर्न सकिन्छ ।
यसो भनेर फेरि देशमा भएका सम्पूर्ण युवा, तन्नेरि बुद्धिजीवी, विद्यार्थीहरु सबका सव क्रान्तिकारी नै हुन भन्न सकिन्न । त्यस भित्र (बिच) क्रान्ति विरोधि वा प्रति क्रान्तिकारीहरु पनि हुनसक्छ । क्रान्तिकारी हो कि होइन भनी कसरि छुत्याउने त ? त्यसको निमित्त भरपर्दो उपाय एक मात्र “कसी” हुनसक्छ, त्यो हो ऊ मजदुरहरु र किसानहरुका जन–समुहसँग घनिष्ट रुपले गाँसिन तयार छ कि छैन र व्यवहारमा त्यसो गर्छ कि गर्दैन । ऊ त्यसो गर्न तयार छ र साँचिनै त्यसो गर्छ भने क्रान्तिकारी हो, होइन भने ऊ अक्रान्तिकारी वा प्रतिक्रान्तिकारी हो । फेरी आज ऊ मजदुरहरु र किसानहरुका जन–समूहसँग घनिष्ट रुपले गाँसिन्छ भने आज ऊ क्रान्तिकारी हुन्छ, भोलि ऊ यसो गर्न छाड्छ वा यसको उल्टो बाटो समातेर उस्ले साधारण जनतालाई दबाउँछ भने ऊ अक्रान्तिकारी वा प्रतिक्रान्तिकारी बन्दछ । त्यसैले कुनै मानिस सच्चा क्रान्तिकारी हो कि झुटा हो, ऊ सच्चा माक्र्सवादी हो कि झुटा माक्र्सवादी हो भनेर लेखाजोखा गर्नु र ठह¥याउनु पर्दा मजदुरहरु र किसानहरुका ब्यापक जन–समुहसँग उसको कस्तो सम्बन्ध छ भन्ने कुरा मात्र पत्ता लगाउनु पर्छ, अनि ऊ कस्तो खालको मान्छे हो भन्ने कुरा थाहा भइहाल्छ । यो नै एकमात्र कसी हो, अर्को कसी छँदै छैन ।
हामीले हाम्रो नेपालमा संघर्ष गर्दै आएको झन्दै आज सात दसक वित्नै लाग्दासम्म पनि अझै किन आफ्नो लक्ष प्राप्त गर्न नसकिरहेको हो ? यसका खास कारणहरु के के हुन् ? कारण स्पष्ट छ । शत्रुको शक्ति अचाक्लि बलियो हुनु, हाम्रो शक्ति अचाक्लि कमजोर हुनु । शत्रु (साम्राज्यवाद र अरेलु प्रतिक्रियावाद) का शक्ति बलियो हुनुको कारण के हो भने, यिनीहरुको आपस्तमा कयन अन्तरविरोध हुँदाहुँदै पनि कम्युनिष्ट (क्रान्ति) विरोधि क्याम्पमा यिनीहरुको एकमत छन् । हाम्रो शक्ति कमजोर हुनुको कारण मुख्यतः हामी आफै भित्र चल्दै आएका फूट, निस्क्रियता, निराश तथा यथास्थिति, दक्षिणपन्थी अवसरवाद, आधुनिक संशोधनवाद र नवसंशोधनवाद हावि हुनु र पछिल्लो समयमा आएर क्रान्तिका मूल नेतृत्वले नै क्रान्तिप्रति गद्दरी गर्नु र पटक पटक पार्टी विभाजनको मार खपन पर्नुको सँगै हामीमा सैनिक, राजनैतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पनि कमजोर छौँ । तर, हामीमा कमजोर हुनु र त्यसले गर्दा हामीले साम्राज्यवाद विरोधि, विस्तारवाद विरोधि, दलाल नोकरशाहि पूँजीवाद तथा सामन्तवाद विरोधि अभिभारा पुरागर्न नसक्नुको मुख्य कारण, देशको सिङ्गो जनसंख्याको ९० प्रतिशत भएका मजदुर, किसान र श्रमिक जनसमूहलाई संचालित गर्नमा कमिकमजोरि रहन गएकोले हो । जनसंख्याको ९० प्रतिशत भएका मजदुर, किसान र श्रमिक जन–समूहलाई परिचालित र संगठित गरेपछि मात्रै साम्राज्यवाद, विस्तारवाद, दलाल नोकरशाहि पूँजीवाद तथा सामन्तवादको तख्ता पल्टाउन सम्भव हुन्छ ।
नेपालको क्रान्तिकारी अभिभारा पुरा गर्न नेपाल कम्युनिष्ट आन्दोलनका सत्तरी वर्षका र अन्य आन्दोलनहरुका सबै पाठहरुको अध्ययन गरी सबका सवलपक्षहरुको विकास गर्ने र त्यस्का गल्तीहरुबाट जोगिनु, जसले गर्दा युवाहरु देशभरिका जनतासँग एकतावद्ध हुन सकून र क्रान्ति विफलताबाट सफलतातिर मोडिन सकोस । यूवाहरु सिङ्गै राष्ट्रलाई सञ्चालित र एकतावद्ध पारे पछि, भारतीय विस्तारवादको नीति निर्देशनमा आधारित दलाल नोकरशाहि पूँजीवादी सामन्तवादी राज्यसत्ता, अर्थात अर्धसामन्ति, अर्धऔपनिवेशिक नवऔपनिवेशिक अवस्थाबाट मुक्त तुल्याउन र पुरानो नेपालालाई नौलो नेपालमा रुपान्तरण गर्नको निम्ति हामी सबैले क्रान्तिकारी सचेतना अपनाई, देशभरिका यूवाहरुलाई एकतावद्ध गर्न देशभरिका जनतालाई संगठित गर्न दरिलो अठोट गर्नै पर्दछ । अन्यथा, देशलाई अर्धसामन्ति, अर्धऔपनिवेशिक नवऔपनिवेशिक अवस्थाबाट मुक्त तुल्याउन र राष्ट्रिय स्वाधिनताको रक्षा, जनताको जनतन्त्रको स्थापना र जनजिवीकाका आधारभूत समस्याहरुको समाधानका लागि, पार्टीको आधारभूत कार्यक्रम, अर्थात नयाँ जनवादको न्यूनतम कार्यक्रम केवल कार्यक्रममै मात्र सिमित रहन नजाला भन्न सकिन्न । यस अर्थमा सिङ्गो पार्टीले क्रान्तिकारी सचेतता अपनाउनु नितान्त जरुरी छ ।


















