रुपन्देही – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको नेतृत्वको दुई तिहाई सरकारले देश र नागरिकलाई समृद्धिको दिशामा अगाडि बढाउन खोजे पनि प्रतिपक्षी वर्गले प्राप्त उपलब्धीलाई निस्तेज पार्न विभिन्न प्रयत्न गरिरहेको आरोप लगाएका छन् ।
उनले नागरिकको आन्दोलनबाट एकात्मक व्यवस्थाको अन्त्य भई समाजवादतर्फ उन्मुख नयाँ क्रान्तिको सुरुआत भएको जनाए ।
वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीद्वारा प्रकाशित ‘लोक अभियान पाक्षिक पत्रिका’को आइतबार बुटवलमा विमोचन गर्दै अध्यक्ष दाहालले दुई तिहाईको बहुमतको सरकारले नागरिकको पक्षमा काम नगर्ने हो भने प्राप्त उपलब्धि गुम्ने खतरा रहेको र सरकारले नागरिकका कुरा सुन्न छाडे प्रतिक्रान्तिको खतरा रहेको जनाए ।


















