इलाम / अनशनरत प्रा डा. गोविन्द केसीले सार्वभौम संसद्लाई ‘बन्धक बनाउने नियत’ राखेको भन्दै बौद्धिक तथा युवा जनमत उहाँको मागसँग असहमत देखिएको छ । प्राध्यापक, अधिकारकर्मी र युवा विद्यार्थीले विधि र कानून नमानी कसैले ‘हठ’ को प्रदर्शन गर्न नहुनेमा जोड दिएका छन् ।
प्रतिनिधिसभामा विचाराधीन राष्ट्रिय चिकित्सा विधेयकमा विगतका सहमति शतप्रतिशत समावेश हुनुपर्नेलगायत माग राखी त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ प्रा डा केसीले इलाम सदरमुकामको एक निजी घरमा गत पुस २५ गतेदेखि अनशन शुरु गर्नुभएको हो । इलाममै केसीको अनशनलाई अनशनकै माध्यमबाट चुनौती दिँदै काठमाडौँका २७ वर्षीय युवा विजय थापा पनि गत पुस २७ गतेदेखि आमरण अनशनमा बस्नुभएको छ ।
उहाँको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सोमबार बिहान इलाम जिल्ला अस्पतालमा सारिएको छ । उहाँको अनशन अब अस्पतालबाटै जारी रहने छ । ‘अलिकति उहाँ विचलित भएको हो कि जस्तो लाग्छ, एउटा व्यक्तिले देशको सार्वभौम संसद्को निर्णयलाई नै बन्धक बनाउने अडान राख्नु हुँदैन’, इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्राध्यापक सन्तोष पराजुली रासससँग भन्नुहुन्छ, ‘विधिको शासनको हिसाबले उहाँको नियतमाथि प्रश्न उठेको छ ।’
प्रा पराजुलीले ‘अनशन बस्दा सरकार झुकिहाल्छ’ भन्ने हठी सोचको परिणाम नै थापाको अनशन भएको तर्क राख्नुभयो । ‘सबै माग पूरा हुनुपर्छ भन्नु अराजक हुनु हो’, प्रा पराजुली दुवै अनशनकारी उस्तै–उस्तै प्रवृत्तिको पृष्ठपोषक भएको जनाउँदै भन्नुहुन्छ, ‘विधिको शासनमा संसद्को निर्णय सरकारले पनि मान्नुपर्छ ।’
इलाम उच्च अदालत बार एशोसिएसनका पूर्वअध्यक्ष सुधीर बोहोरा माग पूरा भएनन् भनेर अनशन बस्दै जाने केसीको प्रवृत्ति ‘अलोकतान्त्रिक हठ’ भएको जनाउनुहुन्छ । ‘उहाँको अनशनले कानूनी राज्यको लोकतान्त्रिक अवधारणामाथि नै चुनौती खडा गरेको छ’, बोहोरा भन्नुहुन्छ, ‘माग पूरा भएनन् भने अरुले कानूनी निकायमा जानुपर्ने र डा केसीले चाहिँ अनशन बस्दा माग पूरा भइहाल्ने कुरा कानूनको उपहास हो ।’
कोही पनि कानूनभन्दा माथि नहुने जनाउँदै बोहोराले सरकारी कर्मचारी भएर अनशनमा बसिरहँदा कस्तो सन्देश गइरहेको छ भन्ने उहाँले केसीले बुझ्नुपर्ने बताउनुभयो । उहाँले अर्का अनशनकारी थापाको अनशन केसीको हठका विरुद्ध अर्को हठको प्रदर्शन भएको टिप्पणी गर्नुभयो ।
अस्पतालमा हड्ताल गराएर आम नागरिकलाई दुःख कष्ट दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको धारणा छ । १६औँ पटकसम्म अनशन बस्नु भनेको प्राडा केसीको शैली जायज नभएको भन्दै अधिकारकर्मी छवि श्रेष्ठले एउटा व्यक्तिको सनकमा विधि र कानूनको शासन नै लत्रिन नहुने जनाउनुभयो ।
अनशनका माग बारम्बार पूरा गर्दै जाने हो भने भोलिका दिनमा अरु थुप्रैले आमरण अनशन बस्ने अवस्था आउने उहाँले जनाउनुभयो ।


















