काठमाडौंं / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी संरचना ध्वस्त हुने अवस्थामा पुगेको छ । केन्द्रमा एकता भएको जस्तो देखिए पनि जिल्ला तहदेखि मातहतका पार्टी कमिटीहरूको संरचना भताभुङ्ग अवस्थामा रहेको देखिन्छ । पुस मसान्तभित्र सांगठनिक एकता बनाइसक्ने दावी नेतृत्वले गर्दै आएको भए पनि त्यो सम्भावना देखिएको छैन ।
अध्यक्षद्वय केपी ओली र प्रचण्डको कार्यशैलीप्रति आम कार्यकर्तापंक्तिमा नैराश्यता र आक्रोश पैदा भइरहेको छ । अध्यक्षद्वयले स्थायी कमिटी बैठकमा समेत समर्थन पाउन सकेका छैनन् । दुवै अध्यक्षको प्रतिवेदनमाथि स्थायी कमिटीमा चर्काे आलोचना भएको थियो । प्रतिवेदनलाई पुनर्लेखन गर्ने भनिए पनि पुनर्लेखन गरी कमिटीमा पेश गरिएन । प्रतिवेदन राजनीतिक पार्टीको कार्यदिशालाई निर्धारण गर्ने मार्गदर्शन हुन्छ । यसरी प्रतिवेदन नै तयार गर्न नसकेकाले पार्टीको कार्यदिशा पनि स्पष्ट हुन सकेको छैन ।
स्रोतका अनुसार पार्टीभित्र अनौपचारिक छलफलहबाहेक औपचारिक बैठक बस्न सकिरहेको छैन । सांगठनिक एकीकरणका लागि बनाइएको कार्यदलले समेत आफ्नो गति लिन सकिरहेको छैन । पार्टीका अध्यक्षद्वयको कार्यशैली र सरकारको कार्यशैलीप्रति पार्टीको माथिल्लो पंक्तिदेखि तल्लो कार्यकर्तापंक्तिसम्म असन्तुष्टिको विषय बनेको छ ।
राजनीतिक आदर्शलाई एकातिर पन्छाएर दुईतिहाइ बहुमतको सरकार निर्माण भएको अवस्थामा पनि जनतालाई केन्द्रमा राखेर काम गर्न नसक्दा सरकार सर्वत्र आलोचित हुनु परिरहेको अवस्थाले पार्टीपंक्तिलाई सरकारको पक्षमा बोल्न समेत समस्या बनाइरहेको एक नेताले जनधारणालाई जनाए । पार्टीको संरचना अस्तव्यस्त हुनु र सरकारको लोकप्रियता खस्किंदै जानुले तल्लो तहका कार्यकर्तापंक्तिमा पार्टीबाट विकर्षित हुने अभियान नै चलेको छ । विप्लव नेतृत्वको नेकपा सत्तासीन नेकपाका कार्यकर्ताहरूको आकर्षणको केन्द्र बनिरहेको छ । जिल्लाहरूमा सत्तासीन नेकपा छोड्दै विप्लव नेतृत्वको नेकपातिर प्रवेशको लहर चलिरहेको अवस्थाले सत्तासीन नेकपा ध्वस्त हुने संकेत भइरहेको छ ।


















