यसरी झस्काइँदै छ नेपालबाट चीनलाई

215

काठमाडौं / भौगोलिक दृष्टिकोणले नेपालको भू बनावट अत्यन्त महत्वपूर्ण साबित हुने लक्षण देखिन थालेका छन् । भारत र चीनको आपसी टक्करले गर्दा कहिले दक्षिण त कहिले उत्तरलाई रिझाउनु पर्ने नेपालको बाध्यता रहँदै आएकोमा नेपाल संवेदनशील मोडमा उभिन आइपुगेको छ । नेपालमा लामो समयदेखि भारतीय चासो प्रमुख रूपमा देखिदै आएको हो । नेपालको आन्तरिक मामिलामा सुक्ष्म व्यवस्थापनको आरोप खेप्दै आएको भारत पछिल्लो समय नेपाल मामिलामा निष्कृय जस्तै देखिन थालेको छ । तर नेपालमा अमेरिकन र पश्चिमा चासो भने अस्वाभाविक रूपमा बढिरहेको देख्न सकिन्छ ।

केही समय अघि परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीको अमेरिका भ्रमणका बेला अमेरिकी विदेश मन्त्री माइक पम्पीओले इन्डोप्यासिफिक रणनीतिमा नेपालको साथ खोजेको विषय चर्चामा आएको थियो । विश्व शक्तिका रूपमा उदाउँदै गरेको चीनले अघि सारेको महत्वकांक्षी परियोजना ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभमा हस्ताक्षर गरिसकेको नेपालसँग इन्डोप्यासिफिक रणनीतिमा साथ खोज्नुको अर्थ नेपाललाई चीनबाट टाढा बस भन्ने सन्देश दिएको कुटनीतिक मामिलाका जानकारहरू दाबी गर्छन् । जानकारहरूका अनुसार इन्डोप्यासिफिक रणनीति चीनको ‘बेल्ट एण्ड रोड’ परियोजनालाई चूनौति दिन अमेरिकाले अघि सारेको सैन्य रणनीति भएको र यसमा भारत, जापान र अष्ट्रेलिया मुख्य सहयोगी रहेका छन् ।
दुई विदेश मन्त्रीको भेटमा अमेरिकी विदेशमन्त्रालयका सह प्रवक्ताले इन्डोप्यासिफिकमा नेपालको केन्द्रीय भूमिकाका बारेमा छलफल भएको जनाएका थिए । अमेरिका भ्रमणबाट फर्किएपछि मन्त्री ज्ञवालीले इन्डोप्यासिफिक रणनीतिका विषयमा नभएर इन्डोप्यासिफिक क्षेत्रका विषयमा मात्र छलफल भएको स्पष्टिकरण दिएका थिए । वास्तविक रूपमा के भएको थिया ? ज्ञवालीलाई नै थाहा होला ।

हालैमात्र इन्डोप्यासिफिक रणनीतिको एउटा सशक्त सदस्य जापानका विदेशमन्त्री तारो कोनो नेपाल भ्रमण गरेर फर्किएका छन् । तारो कोनो भारत भ्रमण पछि नेपाल आएका थिए । उनले भारतमा हुँदा इन्डोप्यासिफिक रणनीतिका बारेमा छलफल गरेका थिए । नेपालमा पनि उनले समकक्षी प्रदीप कुमार ज्ञवालीसँग यस विषयमा छलफल गरेको बाहिर आइसकेको छ । दुई देशका विदेशमन्त्रीको भेटपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा महत्वपूर्ण छलफल भएको जनाइएको थियो । हालै इन्डोप्यासिफिक क्षेत्रका अमेरिकी सेनाका कमाण्डरले नेपाल भ्रमण गरी महत्वपूर्ण भेट गरेको थाहा भएको छ ।

अमेरिकी सिनेटले हालै अर्थात गत डिसेम्बर ३१ मा एशियालाई आश्वस्त पार्ने विधेयक पनि पारित गरेको छ । जसमा यस क्षेत्रमा अमेरिकी स्वार्थ पुरा गराउन वार्षिक अर्बाैँ रकम खर्च गर्ने उल्लेख गरिएको छ । उक्त विधेयकमा नेपालमा रहेका तिब्बती शरणार्थीहरूका लागि गैर सरकारी संस्थाका तर्फबाट सहयोग गर्ने उल्लेख गरिएको छ । नेपालको एक चीन नीति विपरित अमेरिकाले नेपालमा रहेका तिब्बती शरणार्थीलाई सघाउने नीति सिनेटबाटै पारित गर्नुले अमेरिका घोषित रूपमै नेपालबाट चीनलाई चिढाउने गतिविधि गर्न तयार भएको बुझ्न सकिन्छ ।

यसरी पछिल्लो समय नेपालमा अमेरिकी गतिविधि एकाएक बढ्नुका पछाडि नेपालसँगको कुनै स्वार्थ भन्दा पनि नेपालसँग जोडिएको चीनलाई चिढाउनका लागि भएको कुरामा कुनै दुविधा छैन । चीनलाई घेराबन्दीमा पार्ने र रोक्ने रणनीति अनुसार अमेरिकाले नेपाललाई एउटा माध्यमका रूपमा प्रयोग गर्न खोजिरहेको पछिल्ला गतिविधिबाट पुष्टि हुँदै गइरहेको छ । अमेरिकाले नेपालमा ठूलो जनशक्ति सहितको दुतावास राख्नु र आफ्ना गतिविधिलाई समेत बढाउनुले नेपाल अमेरिकाको प्रयोगशाला बन्दै गरेको कुरालाई संकेत गर्छ ।

केही समय पहिले अमेरिकी राजदुतलाई अमेरिकाले नेपाललाई किन भारतीय आँखाबाट हेर्छ भनि सोधिएको प्रश्नमा राजदुतको जवाफ थियो, हामी नेपाललाई सिधा रूपमा हेर्छौँ, भारतीय आँखाले हेर्ने भए नेपालमा यती ठूलो दुतावासको किन आवश्यकता पथ्र्याे ? संभवतः नेपालमा रहेको अमेरेकी दुतावास साउदी अरेबीया पछि दोस्रो ठूलो हो । यहाँ रहेको अमेरिकी दुतावासमा करिब ६ सयको संख्यामा कर्मचारी रहेका छन् । विश्व कुटनीतिबारे जानकारी राख्ने एक पूर्व राजदूतले नेपाल जस्ता सानो मुलुकमा अमेरिकाले यति ठूलो दुतावास राख्नुपर्ने अन्य कारणहरू देखिदैन ।

विश्व शक्तिका रूपमा रहेका मुलुकहरूले आफ्ना स्वार्थ पुरा गराउन खोज्नु वा खेल्नु कुनै नौलो विषय होइन । तर यसले नेपालको छिमेकी मुलुकसँगको सम्बन्धलाई कस्तो असर पार्छ ? नेपाल आफ्नो विदेश नीतिप्रति कति गम्भीर हुने भन्ने विषय नेपाल सरकारले तय गर्ने कुरा हो । पछिल्लो समय बढिरहेका अमेरिका सहितका पश्चिमा गतिविधिप्रति सरकार जानकार नै देखिन्छ । जे जति गतिविधि भइरहेका छन् ती कतै न कतै सरकारी अधिकारी वा उच्च पदस्थहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न देखिन्छन् । यसले नेपाललाई दीर्घकालमा कहाँ पु¥याउने हो ? संवेदनशील विषय देखिन्छ ।

हरेक मुलुकका लागि जस्तै नेपालका लागि पनि छिमेकीसँगको सम्बन्ध उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसमाथि नेपाल लामो समयदेखि दक्षिणी छिमेकी मुलुकको व्यवहारका कारण अस्थिरताको चक्रमा फस्दै आइरहेको छ । पछिल्लो दिनमा उत्तरी छिमेकी चीनसँगको सम्बन्ध नयाँ ढंगबाट अघी बढ्न खोजिरहेका बेला नेपालमा चीनविरोधी गतिविधि बढ्न थालेका छन् । इन्डोप्यासिफिक रणनीति होस या तिब्बती शरणार्थीलाई सघाउने अमेरिकी निर्णय नै किन नहोस, यी सबै गतिविधि नेपालबाट चीनलाई घेराबन्धी गर्ने रणनीति अन्तर्गतका गतिविधि हुन् । यस्ता विषयमा नेपाल सरकार निकै गम्भीर बन्नु आवश्यक छ । यदि अहिले नेपालले आफ्नो कमजोर कुटनीति प्रदर्शन ग¥योे भने यसले दीर्घकालसम्म पनि नेपालले निकै ठूलो नोक्सानी ब्योहोर्नुपर्ने निश्चित रहेको कुटनीतिक विश्लेषकहरूको दाबी छ ।- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here