– निशा तामाङ
संसारका विकसित देशहरूको भ्रमण गरेर नेपाल फर्किनेहरूलाई काठमाडौं शहर वास्तवमै दिक्क लाग्दो हुन्छ । आकाशमा उड्दासम्म काठमाडौं उपत्यकाको दृश्य अन्यत्र मुलुकहरूको आकाशबाट भन्दा कति हो कति गुणा सुन्दर देखिन्छ । तर काठमाडौं शहर अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि यो भन्दा फोहोर वस्ती अन्त कतै छैन जस्तो लाग्दछ । विकसित मुलुकहरूमा भ्रमण गरेर काठमाडौंमा फर्किने सत्तासीन व्यक्तिहरूले अध्ययन भ्रमणका नाममा मात्र करोडौं रूपैया राज्यकोषबाट खर्च गरेका हुन्छन् । तर त्यो खर्चको सदुपयोग देशका निम्ति केही पनि हुन पाएको देखिदैन । कमसेकम काठमाडौं उपत्यकालाई सडकको विकास र सडकको दायाँ बायाँ हरियाली वृक्षारोपण मात्र गर्न सकेपनि राज्यकोषबाट खर्च गरेको उपयोग भएछ भनेर चित्त बुझाउन सकिने थियो ।
काठमाडौं शहरलाई हेर्दा वास्तवमै रहर लाग्छ । झट्ट हेर्दा काठमाडौं शहर पहिलोपल्ट हेर्ने जो कोहिलाई पनि रहर नै लाग्ने गर्दछ । तर दिनप्रतिदिन बढदै गइरहेको काठमाडौंको जनसंख्या र जनसंख्यासंगै बढिरहेको सवारीसाधनको चापले आम मानिसहरू समस्या झेल्न बाध्य भैरहनु परेको छ । यो जनसंख्याको चाप र सवारीसाधनको बढ्दो संख्यालाई नियन्त्रण नगर्ने हो भने काठमाडौं उपत्यका बस्न लायक शहर रहने छैन । हुन त अहिले पनि काठमाडौं शहर प्रदूषणले भरिएको छ । धुवाँको प्रदूषण , वायूको प्रदूषण, धूलोको प्रदूषण र फोहोरमैलाको प्रदूषण लगायतले गर्दा काठमाडौं शहरमा पहिलो पटक प्रवेश गर्नेहरू तुरुन्तै अस्वस्थ हुन पुग्दछन् । त्यसैले पनि काठमाडौं शहर नेपालकै उपत्यका बाहिरका जिल्लावासीहरूका लागि अस्वस्थकर शहर लाग्ने गर्दछ ।
त्यसैगरी काठमाडौं उपत्यकामा सवारी जाम अर्को ठूलो समस्या बन्न गएको छ । सवारी जाम नभएको सडक काठमाडौं उपत्यकामा कुनै छैन । जताततैका सडकमा सवारी जाम हुने गरेको देखिन्छ । सवारी जाम सवारीसाधनले मात्र नभएर सवारीसाधनको व्यवस्थापन हुन नसकेका कारणले पनि हो भन्ने कुरा स्पष्ट छ । सरकारले सडकको अवस्थालाई व्यवस्थित गर्न ट्राफिक प्रहरीको व्यवस्था गरेको भएपनि ट्राफिक प्रहरीको काम चोकहरूमा उभिएर हात हल्लाउनेमै केन्द्रीत देखिन्छ । ट्राफिक प्रहरीले गर्नै नपर्ने कामबाट पनि सवारी जाम हटाउन सकिन्छ । सवारीसाधनहरूलाई नियम लागू गरिदिने हो भने सवारीजाम आफै व्यवस्थित हुन्छ । उदाहरणको लागि गत वर्ष सडकमा हर्न निषेधको नियम सार्वजनिक गरिंदा बितिकै सडकमा सुनिने अत्यास लाग्दा हर्नहरू नियन्त्रित भएका थिए । हर्न नियन्त्रण गर्न ट्राफिक प्रहरीले सवारी चालकलाई कारवाही गनुपरेको पनि सुनिएन । यसैबाट स्पष्ट हुन्छ, नियम लागू भएपछि कार्यान्वयन हुन सक्दो रहेछ ।
काठमाडौंको सवारी अव्यवस्थित हुनुमा एउटा अर्को कारण सवारीसाधनहरूले यात्रूको प्रतिक्षामा जथाभावी गाडी रोक्नु र जतासुकै जथाभावी सवारी रोकेर यात्रू ओराल्ने र चढाउने गर्नु । यो मनपरिलाई व्यवस्थित गरिदिने हो भने उपत्यकाको सवारी जाम ९० प्रतिशत समाधान हुने निश्चित छ । सडकमा सवारी जाम नहुने हो भने ट्राफिक प्रहरीको आवश्यकता पनि सडकको धूलो खानेगरि ड्यूटी दिइरहनु पर्ने अवस्थामा रहने छैन । त्यसैले सरकारका उच्च पदासिनहरू अध्ययन भ्रमणका नाममा विकसित मुलुकहरूमा घुमेर फर्किएपछि ती देशहरूमा देखेका विकासका पदचिन्हहरूलाई नेपालमा लागू गराउन प्रयास गरिदिए राम्रो हुने थियो ।
त्यसैगरि सडकमा हिड्ने यात्रूहरूलाई जेब्रा क्रसिङको महत्व बुझाउन जरुरी छ । जथाभावी सडक क्रस गर्दा दुर्घटनाको सम्भावना बढ्ने र सडक पनि अस्तव्यस्त हुने अवस्था सृजना हुन जान्छ । सडकमा सवारी जाम हुने अर्को महत्वपूर्ण कारण यो पनि हो । नियम पालना गरेर जेब्रा त्रसिङबाट बाटो पार गर्दा पनि ज्यानको खतरा रहन्छ । त्यसैले जेब्रा क्रसिङ गर्ने बानी बसाल्नुको साथै सर्वसाधारणले सडक जेब्रा क्रसिङबाट पार गर्न लाग्दा सवारी चालकले अपनाउनु पर्ने सावधानीलाई नियमका रूपमा लागू गरिनु पर्दछ । सडक क्रस गर्ने पैदल यात्री र गाडी दुवै पक्षको सावधानीका लागि ट्राफिक प्रहरीले सामान्य ध्यान मात्र पु¥याउने हो भने दुर्घटना पनि नियन्त्रण हुने र सडक जाम पनि नहुने अवस्था हुन सक्दछ ।
यसैबीच सडकका चोकहरूमा बनाइएका ट्राफिक सिग्नलहरूलाई मर्मत गरि सोलार सिस्टमबाट चालू गर्ने प्रयासतर्फ ध्यान दिनु आवश्यक छ । वैदेशिक सहयोगमा बनेका ट्राफिक बत्ती संरक्षणको अभावमा बिग्रिएर प्रयोग हुन नसकिरहेको अवस्था छ । ट्राफिक सिग्नलको नियम पालना गर्न नसकिदा पनि सवारी जामको समस्या बढ्दो छ । उल्लेखित विषयहरूतर्फ जिम्मेवार निकायले ध्यान पु¥याउने हो भने काठमाडौं उपत्यकालाई ट्राफिक जामको समस्याबाट मुक्ति दिलाउन सकिने निश्चित छ । – जनधारणा साप्ताहिक
[email protected]


















