काठमाडौं / चोभार संरक्षण समितिले बृहत् भेला सम्पन्न गरेको छ । चोभारमा हिमाल सिमेन्ट कारखानाले प्रयोग गरेको जग्गामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुख्खा बन्दरगाह निर्माण हुने भएपछि त्यहाँ विरोध जनाउदै आएका चोभार संरक्षण समितिले बृहत् भेला सम्पन्न गरेको हो ।
स्थानीयको अवरोधकै कारण निर्माण कार्य ठप्प बनेको चोभारमा प्रस्तावित सुख्खा बन्दरगाहको शिलान्यास भएको भोलिपल्टै काम ठप्प बनेको छ ।सुख्खा बन्दरगाहको काम ठप्प पारेका स्थानीयलाई छक्याउँदै स्थानीयको विरोधबीच बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।
समितिको भेलाले झुठो मुद्दा लगाई ३ दिन देखि थुनामा राखिएका चोभार संरक्षण समितिका सदस्य बिष्णु फुयाल शर्माको तत्काल रिहाईको माग गर्ने निर्णय गरेको छ ।
चोभारमा सुख्खा बन्दरगाह अनुपयुक्तता र हाम्रो माग बारे राष्ट्रिय स्तरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ भने चोभारमा सुख्खा बन्दरगाह अनुपयुक्तताबारे माग राखी सम्पुर्ण चोभारवासीको हस्ताक्षर संकलन गरेर प्रधानमन्त्री कार्यालय लगायत सबै निकायमा स्मरण पत्र बुझाउने भएको छ ।
समितिले थुनामा रहेका समितिका सदस्यको रिहाइको लागि साविक हिमाल सिमेन्ट कारखानाको मुल गेटमा निरन्तर धर्नामा बस्ने भएको छ ।


















