काठमाडौं/सन् २०२० मा थाइल्याण्डको आयोजनामा एएफसी यू–२३ च्याम्पियनशिप फुटबलको छनोट चरणमा पहिलो खेल नेपालले ओमानसँग खल्ने पक्का भएको छ ।एसियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’ मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने पक्का भयो । कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग आगामी मार्च २२ पहिलो खेल खेल्नेछ । छनोटको कठिन समूहमा परेको नेपालले दोस्रो खेल आयोजक कतारसँग २४ मार्चमा खेल्ने भएको छ । समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग मार्च २६ मा
खेल्नेछ ।
समूहको शीर्ष टोलीले एएफसी यू–२३ च्याम्पियनशिप खेल्नेछन् । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनशिप खेल्ने मौका पाउनेछन् ।च्याम्पियनशिपका लागि ४४ टोलीले छनोट खेल खेलिरहेका छन् । जसलाई एएफसीले ११ समूहमा विभाजन गरेको छ । फाइनल चरणको च्याम्पियनशिपमा १६ टोलीको सहभागिता रहनेछ ।नेपालले अहिलेसम्म एएफसी यू–२३ मा उच्च प्रदर्शन गर्न सकेको छैन । नेपाल पहिलो चरणबाटै आउट हुँदै आएको छ । यस पटक कठिन समूहमा रहेको कारण नेपालको दोस्रो चरणको सम्भावना निकै कठिन रहेको छ ।


















