अफगान सुरक्षा केन्द्रमा भिषण आक्रमण, कम्तीमा ६५ को मृत्यु

375

अफगानिस्तान/अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ । यसअघि उक्त आक्रमणबाट १२ जनाको मात्र मृत्यु भएको समाचार आएको थियो । गुप्तचर निकायको तालिम केन्द्रमा शुरुमा विस्फोटक पदार्थले भरिएको एक सवारी साधन विस्फोट गराइएको थियो । त्यसलगत्तै कारमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको सुरक्षा स्रोतले जनाएको छ ।

“हामीले सोमबार ६५ जनाको शब निकाल्यौं,” वार्दाक प्रान्तका प्रान्तीय परिषदका उपप्रमुख मोहम्मद सरदार बखयारीले बताउनुभयो । आफ्नो नाम बताउन नचाहने एक जना उच्च सुरक्षा अधिकारीले आक्रमणबाट ७० जनाभन्दा बढी मारिएको हुनसक्ने बताउनुभयो ।

सोमबार प्रान्तीय अधिकारीहरुले उक्त आक्रमणबाट १२ जना मात्र मारिएको बताएका थिए । तर, केही सञ्चार माध्यमले १०० जनाभन्दा बढीको मृत्यु भएको समाचार सार्वजनिक गरेका छन् । राष्ट्रिय सुरक्षा विभाग ९एनडीएस०को तालिम केन्द्रमा आक्रमण भएकाले मृतकको वास्तविक संख्या बाहिर आएको छैन । राजधानी काबुलबाट करिब ५० किलोमिटर दक्षिणको मैदान शाहरमा उक्त तालिम केन्द्र रहेको छ ।

आक्रमणबाट तालिम केन्द्रको भवनको छाना आंशिक ध्वस्त भएको देखिएको छ । आक्रमणकारी पनि जवाफी कारबाहीमा मारिएका छन् । वार्दाक प्रान्तीय परिषदका सदस्य अब्दुल वाहिद अक्बरजाईले भवनको छाना ढलेकाले सबैभन्दा बढी क्षति भएको बताउनुभयो । “यो ठूलो क्षति हो,” परिषदका प्रमुख अख्तर मोहम्मद ताहिरीले बताउनुभयो । “एनडीएस सैन्यबल अफगान प्रहरी र सेनाको तुलनामा निकै राम्रो तालिमप्राप्त एवं हातहतियारबाट सुसज्जित हुन्छन् ।”

उहाँले तालिबानी लडाकूहरुले अफगान विशेष फौजले लगाउने पोशाक लगाएको पनि जानकारी दिनुभयो । आइतबार मात्र तालिबानी आत्मघाती आक्रमणबाट लोगार प्रान्तका गभर्नरको सुरक्षामा खटिएका सात जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । सुरक्षा फौज र तालिबान लडाकूबीचको सङ्घर्ष पछिल्ला दिनमा अझ बढेको अनुभव गरिएको छ । विगतमा अफगानिस्तानमा चिसो मौसममा प्रत्यक्ष युद्धका घटना कम हुने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here