चितवन / विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले चितवन जिल्लाको माडी नगरपालिकासँग जोडिएको भारतीय सीमाक्षेत्रमा काँडेतार लगाएका छन्।
विप्लव नेतृत्वको नेकपाको भाृत संगठन अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा चितवनको माडी नगरपालिकास्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक विगतमा भारतद्वारा मिचिएको नेपाली भूभागमा काँडेतार लगाएको अखिल क्रान्तिकारिका अध्यक्ष चिरञ्जीवि ढकालले जनाए ।
भारतले चितवनको माडीलगायत देशका ७१ स्थानमा ७८ हजार हेक्टरभन्दा बढी जमिन मिचिरहेको जनाउँदै अखिल क्रान्तिकारीले देशको ‘सीमा बचाऔँ अभियान !’ अन्तर्गत उक्त स्थानमा काँडे तारबार लगाएको हो । उक्त काँडेबार करिब ३० मिटर लामो रहेको क्रान्तिकारीले जनाएको छ। चितवनमा मात्रै नभई भारतले मिचेका हरेक क्षेत्रमा काँडेबार लगाउने अध्यक्ष ढकालले जानकारी दिएका छन् ।

















