बोल्नैपर्ने विषयहरूमा किन बोल्दैन कांग्रेस ?

198

काठमाडौं / नेपालको व्यवस्थापिका संसदमा गत मंगलबार नेपाली कांग्रेसले गजबको चरित्र देखायो । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको आफूलाई प्रजातान्त्रिक पार्टी भनेर दावी गर्ने नेपाली कांग्रेसले देखाएको चरित्र वास्तवमा प्रजातान्त्रिक आचरणभन्दा बाहिरको देखिन्थ्यो ।

शासन प्रणालीमा सत्तापक्षलाई चेक एण्ड ब्यालेन्समा राख्नका लागि प्रतिपक्षको निकै ठूलो भूमिका हुन्छ । एकन्त्रीय शासन प्रणाली वा अधिनायकवादी व्यवस्थामा मात्र प्रतिपक्षको भूमिका कमजोर हुन्छ । नेपालको संविधानमा नै प्रजातान्त्रिक शासन व्यवस्थाबारे उल्लेख गरिएको छ र संविधानलाई नै समाजवादउन्मुख भनिएको छ । त्यसैले नेपालको वर्तमान परिपे्रक्ष्यमा जनतन्त्र, जनजीविका र राष्ट्रिय मुद्दामा सत्तापक्षलाई झक्झक्याउन प्रतिपक्षलाई कुनै अप्ठेरो हुँदैन बरु उसको भूमिका निकै महत्वपूर्ण हुन्छ ।

तर विडम्बना ! लामोसमय देशको शासन व्यवस्थामा डाडुपन्यू चलाउने अवसर पाएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आफ्नो भूमिकामा अहिले छ कि छैन भन्ने अवस्थामा छ । सरकार चुनावी घोषणापत्र र जनतासँग गरिएका बाचा र प्रतिवद्धतालाई वेवास्ता गर्दै अघि बढिरहेको छ । एकपछि अर्काे गर्दै राष्ट्रिय ढुकुटीको दुरूपयोगदेखि ठूला–ठूला काण्डहरू हुँदै गइरहेका छन् । प्रतिपक्ष मौन बनिरहेको छ ।

निर्वाचन हुनुभन्दा पहिले कम्युनिस्टहरूले बहुमत ल्याएमा अधिनायकवाद आउँछ भन्दै हिंड्ने कांग्रेसको वर्तमान भूमिका हेर्दा मुलुकमा साच्दै अधिनायकवादी शासन आएकै जस्तो देखिन थालेको छ । त्यो अधिनायकवादी शासन व्यवस्था जनताले महसुस गरिसकेको अवस्था छैन र गलत प्रवृत्तिलाई सुधार गर्न सकिने सम्भावना अहिले पनि छ । तर प्रतिपक्ष नेपाली कांग्रेसलाई भने अधिनायकवादको भूतले सताइसकेजस्तो अनुभूति हुन थालेको छ । नेपाली कांग्रेसको निरीह भूमिकाले मुलुक एक दलीय व्यवस्थामै अघि बढिरहेको जस्तो आभास हुन थालेको छ ।

संसदीय प्रणालीमा कुनै महत्वपूर्ण विषयमा संसदमा बहस हुनु वा संसद अवरुद्ध हुनु सामान्य जस्तै विषय हुन् । जुन विगतदेखि हुँदै आएका हुन् र अहिले पनि बेला–बेलामा यस्ता गतिविधि देखिन्छन् । तर संसद अवरुद्ध हुने विषय राष्ट्रको स्वाधीनता र जनजीविकासँग जोडिएका छन् भने त्यसले जनताबाट सहानुभूति पनि प्राप्त हुन्छ र त्यसले प्रतिपक्षीलाई बलियो पनि बनाउँछ । तर जब प्रतिपक्षिले जनताका लागि भन्दा पनि माफियालाई पोस्नका लागि संसद अवरुद्ध गर्छ, त्यसले अलिकति बचेको शाखसमेत गुम्ने सम्भावना हुन्छ । नेपाली कांग्रेसले अस्ति मंगलबार संसद अवरुद्ध गरेको विषय त्यस्तैमध्येको एक हो । जसले जग हसाउने भन्दा अरु काम गर्दैन । जनतासँग जोडिएका तथा राष्ट्रिय स्तरका मुद्दामा मौन बस्ने कांग्रेसले आफ्ना नेताका नाममा रहेका अस्पतालको विषयलाई लिएर संसद अवरुद्ध गर्ने काम गरेको छ । यसले कांग्रेसको शाखलाई कमजोर बनाउने काम मात्र गर्छ किनभने यो जनता वा मुलुकको हितका लागि भन्दा पनि केही माफियाहरूलाई पोस्नका लागि गरिएको विरोध मात्र हो ।

लामो समय सत्ताको बागडोर सम्हालेर हाल प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको दलले कस्ता विषयलाई संसदमा उठाउनुपर्छ र सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्नुपर्छ भन्ने कुरामा मुख्य जोड दिनुपर्छ, जुन नेपाली कांग्रेसमा देखिएन । यसले प्रतिपक्षी कांग्रेससँग संसदमा उठानका लागि विषय नै फेला नपरेको हो वा सत्तापक्षले गरिरहेका गलत काममा प्रतिपक्षीले पनि साथ दिएको हो भन्ने प्रश्न उठ्न थालेका छन् । यसको जवाफ नेपाली कांग्रेसले दिन सक्नुपर्छ ।

केही समय अघि ३३ किलो अवैध सुनको विषयले नेपालको राष्ट्रिय राजनीतिलाई नै ततायो । यस प्रकरणमा जब शीर्ष तहको राजनीतिक नेतृत्व समेत फस्ने सम्भावना देखियो यो विषय यत्तिकै सेलाएर गयो । यस विषयलाई कांग्रेसले संसदमा जोडदार रूपमा उठाउनुपथ्र्याे तर कांग्रेस मौन बस्यो ! वाइडबडी विमान खरिद प्रकरणले पनि केही समय मिडियामा राम्रै चर्चा परिचर्चा पायो ।

जब नेपाली कांग्रेसका सभापतिको नाम पनि त्यसमा मुछियो कांग्रेसको मुख बन्द भयो, यो विषयमा कांग्रेसले संसदमा विरोध गर्नुपर्दैन ? कम्युनिष्ट आवरणको सरकारले करका नाममा नागरिकको ढाड सेक्ने काम गरिरहेको छ, तर प्रतिपक्षी कांग्रेस जनताप्रति सरोकार नभएझैं गरेको छ र मौन बसेको छ । महँगी, भ्रष्टाचार र अनियमितताहरू बढीरहेका छन् प्रतिपक्षी मौन नै छ । के यस्ता गण्म्भीर विषय संसदमा उठाउन लाएक विषय होइनन् ? शिक्षा र स्वास्थ्यजस्ता महत्वपूर्ण विषय निजीकरण र माफियाहरूको कब्जामा पर्दै गइरहेका छन् । यस्ता विषय संसदमा उठाउने विषय हुन् भन्ने प्रमुख प्रतिपक्षीलाई किन लाग्दैन ? जब माफियाको समर्थनको विषय आउँद संसद् अवरुद्ध हुन्छ । यसले नेपालको राजनीतिमा के संकेत गर्छ ?

नेपालको सबैभन्दा पुरानो प्रजातन्त्रवादी राजनीतिक खेलाडी मानिएको नेपाली कांग्रेसको प्रतिपक्षका रूपमा अपेक्षा गरिएको भूमिका निकै नै फितलो देखिएको छ । यसले नेपाली कांग्रेस जनता, जनतन्त्र र जनजीविकाका विषयमा भन्दा पनि नेतृत्वको व्यक्तिगत स्वार्थमा बढी चिन्तित छ भन्ने देखाउँछ । विगतदेखिनै नेपाली कांग्रेस सामन्तहरूको पार्टीका रूपमा बदनाम हुँदै आएको थियो । अहिले जनजीविकाका विषयमा प्रश्न उठान गरेर आफूमाथि लागेको दाग हटाउन कांग्रेसका लागि निकै ठूलो अवसर प्राप्त भएको थियो, तर त्यो अवसर सदुपयोग गर्न कांग्रेस चुकेको छ र आफ्नो पुरानै धमिलो पृष्ठभूमिलाई नै निरन्तरता दिन खोजेको देखिन्छ । यसले अहिले प्रतिपक्षीको भूमिकामा देखिएका कांग्रेसका गतिविधिले कांंग्रेसको भविष्यलाई अझै कमजोर बनाउने निश्चित छ । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here