जन्ती चढेको बसमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई रु पाँच लाख दिइने

330

 काठमाडौं /  सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी मृतकका परिवारलाई क्षतिपूर्तिवापत उक्त रकम दिन लागिएको हो । यस्तै मन्त्रालयले घाइते भएका सबैको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको छ । बसमा करेन्ट लागेर घाइते भएका २१ मध्ये १९ जना उपचारपछि घर फर्किसकेका छन् ।

बाँकी रहेका दुईमध्ये फुलकुमारी कुँवरको जनकपुर अञ्चल अस्पताल र पवन परियारको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । क्षतिपूर्ति रकम मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमार्फत उपलब्ध गराउने छ ।

प्राधिकरणले उक्त दुर्घटना हुनुमा आफ्नातर्फबाट कुनै पनि लापरवाही नरहेको र नगरेको यसअघि नै प्रष्ट पारिसकेको छ । प्राधिकरणका सखुवा शाखा प्रमुख राजकुमार रमनले बसको छतमा राखिएको टिनको ट्याङ्का ११ केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट प्रवाह भएको जनाउदैं त्यस स्थानमा प्रसारणको तार लत्रिएको गुनासो यसअघि कहीँबाट नआएको पनि उहाँले स्पष्ट पार्नुभयो । सबैला नगरपालिकाले भने प्राधिकरणको लापरवाहीले घटना भएको आरोप लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here