स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा : बार्सिलोना क्लब

424

एजेन्सी /स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोना क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ६–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । बार्सिलोनाले सेभियालाई पहिलो लेग र दोस्रो लेग गरी समग्रमा ६–३ ले हराउन सफल भयो । पहिलो लेगमा भने बार्सिलोना २–० ले पराजित भएको थियो । बार्सिलोनाको जितमा फिलिपे कौटिन्होले दुई गोल गरेको थियो भने कप्तान लियोनल मेस्सी, लुइस स्वारेज, इभान रकिटिक र सर्गी रोबेर्टोले गोल गरे ।

पहिलो हाफमा २–० गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो । यता, दोस्रो हाफमा सेभियाका लागि एरना लोपेसले गोल फर्काएका थिए । खेलको १३औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा रकिटिकले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रतामा पुर्‍याए । त्यस्तै, ५३औं मिनेटमा कौटिन्होले पेनाल्टीबाट गोल गर्दै ३–० गोलमा पुर्‍याए । त्यसको एक मिनेटपछि रोबेर्टोले गोल गर्दै बार्सिलोनालाई ४–० गोलको अग्रता दिलाएका थिए । तर खेलको ६७औं मिनेटमा सेभियाका लागि लोपेसले गोल गर्दै ४–१ को स्थितिमा ल्याएका थिए । खेलको ८९औं मिनेटमा स्वारेज र अतिरिक्त समयमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले सेभियालाई ६–१ गोलअन्तरले पराजित गर्न सफल भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here