नेपालमा राजनीति सेवाभन्दा धन्दाको रुपमा विकास भइरहेको छ : प्रवक्ता सिंह

124

काठमाडौं / नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता प्रशान्त सिंहले नेपालमा राजनीति सेवाभन्दा धन्दाको रुपमा विकास भइरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

नयाँ शक्तिले सुरु गरेको जनसंवाद यात्राअन्तर्गत तेह्रथुमको औसीडाँडा र पोक्लावाङ्गका स्थानीयसँग अन्तरक्रिया गर्दै उहाँले राजनीतिलाई धन्दाबाट सेवामा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

‘मैले राजनीतिलाई घृणा गर्ने मानिसहरुलाई भेटिरहेको छु,’ उहाँले प्रश्न गर्नुभयो, ‘राजनीतिलाई घृणा गरेको हो कि धन्दालाई ? धन्दालाई घृणा गरेको हो भने असल राजनीतिका विकल्प खोज्न हिच्किचाउनु हुँदैन ।’

नेपालमा राजनीति राजनीतिजस्तै नरहेको भन्दै उहाँले असल समृद्धिको लागि असल राजनीतिको औचित्यमाथि जोड दिनुभयो । ‘नेपालमा राजनीति नजिकका मानिसलाई जीवन निर्वाह गरिदिने धन्दामा रुपान्तरण भयो । राजनीति खराब कुरा होइन । तर हाम्रोमा राजनीति राजनीति जस्तै रहेन,’ उहाँले जनाउनुभयो ।

राज्य संयन्त्र नै नेताका आफन्त र पार्टीका सीमित मानिसको सेवामा दुरुपयोग भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसमा परिवर्तन बिना नेपाली जनताको समृद्धिको सपना पूरा नहुने जनाउनुभयो । नेपाली राजनीतिमा नयाँ चिन्तनको आवश्यकतामा जोड दिँदै उहाँले भन्नुभयो, ‘हामीले जसको लागि राजनीति गर्ने भनिरहेका छौं, उहाँहरुको मष्तिष्कमा के चलिरहेको छ, त्यो बुझ्न हामी जनसंवाद यात्रामा आएका हौं ।’

स्वर्गजस्तो गाउँ रित्तिजै जानु चिन्ताजनक भएको भन्दै उहाँले ऊर्जाशील युवा विदेश लखेटेर हामीले कस्तो समृद्धि गर्छौं भन्दै प्रश्न गर्नुभयो । ‘गाउँ स्वर्गजस्तो छ । तर, मानिसहरु किन छाडेर हिंडिरहेका छन् ? गाउँ किन रित्तो भइरहेको छ ? राजनीति गर्ने मानिसहरुले यसको जवाफ दिनुपर्छ,’ उहाँले जनाउनुभयो ।

प्रवक्ता सिंहले नयाँ शक्ति समावेशी पार्टी रहेको जनाउनुभयो । ‘नयाँ शक्ति जातिवादी पार्टी होइन, यो त समावेशी पार्टी हो । नेपाल बहुसांस्कृतिक, बहुभाषी र बहुजातीय समाज भएकोले यहाँको विविधतालाई शक्तिको रुपमा व्यवस्थापन गरेर समावेशी विकास गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ,’ उहाँले भन्नुभयो । संसारको सबैभन्दा समृद्ध देशहरु समावेशी देशहरु भएको र सबैभन्दा गरिब देशहरुमा जातीय र धार्मिक द्वन्द्व रहेको उदाहरण उहाँले प्रस्तुत गर्नुभयो ।

प्रवक्ता सिंहले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मलेसियाका महाथिर महासेठसँग तुलना गर्दै भन्नुभयो, ‘महाथिरले ९२ वर्षको उमेरमा आफ्नै पुरानो पार्टीलाई हराएर प्रधानमन्त्री हुनुभयो, मैले हाम्रो संयोजक भट्टराईमा पनि त्यही सम्भावना देख्छु ।’

संवादमा संयोजक डा.बाबुराम भट्टराई, पूर्वमन्त्री तथा हेडक्वाटर सदस्यहरु परशुराम खापुङ र हिसिला यमी, हेडक्वाटर सदस्यहरु नवराज सुवेदी, गंगा श्रेष्ठ र डम्बर खतिवडा, कृषि विज्ञ तथा विज्ञ परिषदका नेता मदन राई, नेतृ दुर्गा सोब, कमला गुरुङलगायत सहभागी हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here