काठमाडौं / प्रतिनिधिसभाको बुधवार बसेको बैठकमा नेपाली कांग्रेसका सांसदले सरकार खुलेरै भेनेजुएलाको पक्षमा उभिएको भन्दै आपत्ति जनाएका छन्।
नेपालसँग कुनै साइनो र सम्बन्ध भएको भेनेजुएलाको पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्ति, सोही विज्ञप्तिलाई नेकपाले सदर गर्नु र सरकारको धारणा पनि सोही आशयको आउनुले नेपाली जनतालाई के फाइदा हुन्छ भनी बोल्दै सांसद पार्वती डिसी चौधरीले प्रश्न गरिन।
उनले भारतभन्दा बढी सहयोग अमेरिकाले दिइरहेको भन्दै कुनै साइनो नभएको देशका लागि अमेरिकाविरूद्ध विज्ञप्ति निकालेर नेपाललाई केही फाइदा नहुने जिकिर गरिन। स्वतन्त्र सांसद प्रेम सुवालले भेनेजुएलाबारे सरकारको स्पष्ट धारणा माग गरे। उनले यसबारे संसदमा पनि छलफल हुनुपर्ने माग गरे।
कांग्रेस सचेतक पुष्पा भुसालले १६ वर्ष मुनिका बालिकाको बलात्कार घटनामा फाँसीको सजाय हुनुपर्ने माग गरिन। उनले निर्मला पन्त हत्याका अपराधी सरकारको वरीपरी घुमेको आरोप लगाउँदै अपराधीलाई सरकारले संरक्षण दिएको आरोप लगाइन।

















