डोटी / जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ नेपाली सेनाको रुद्रध्वज गणका तीन सैनिकले दान गरेको रगतले एक वृद्धाको ज्यान जोगिएको छ ।
सुदूरपश्चिम पृतना जनसम्पर्क शाखाका अनुसार दीपायल सिलगढी नगरपालिका–५ बस्ने ७५ वर्षीया ललिता केसीलाई सुगर रोगसँगै निमोनिया पनि भएपछि दीपायलस्थित शैलेश्वरी अस्पताल भर्ना गरिएको थियो ।
शरीरमा रगतको मात्रा कमी भएर ज्यान जोगाउन कठीन भएकाले उहाँलाई रुद्रध्वज गणमा कार्यरत अमल्दार सन्दीप दरै, प्युठ गणेश थोकर तथा सिपाही खिमलाल भण्डारीले एक–एक पिन्ट ‘ए’ पोेटिभ रगतदान गरेको अस्पतालका निर्देशक आइजङ्ग कुँवरले जानकारी दिनुभयो ।
रगत दिइएपछि वृद्धाको स्वास्थ्यमा निकै सुधार आएको शैलेश्वरी अस्पतालले जनाएको छ । नेपाली सेनाले आफ्ना सैनिकको ब्लडग्रुप पहिले नै छुट्याएर राख्ने गरेको र चाहिएका बेला जोसुकैलाई पनि रगत दान गर्ने गरेका कारण रगत आवश्यक परे सेनाको ब्यारेकमा बिरामीका मानिस धाउने गरेको स्थानीयवासी तुलसी शाहीले जनाउनुभयो । उहाँले भन्नुभयो, “सेनाले भनेको समयमा रगत दिने भएकाले यहाँका बासिन्दा रगतका लागि अन्य ठाउँ जानुभन्दा पहिले ब्यारेक नै धाउने गर्छन् ।”
शिविरमा ४५३ जनाको उपचार
जिल्लाका उच्च लेकाली भेगमा केही दिनअघि हिमपात भएसँगै चिसो बढेकाले बिरामीको सङ्ख्या बढ्न थालेपछि यहाँस्थित नेपाली सेनाको रुद्रध्वज गणले निःशुल्क स्वास्थ्य शिविर गर्न थालेको छ ।
उक्त गणद्वारा जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा ३३३ महिला र १२० पुरुषको स्वास्थ्य जाँच गरिएको थियो । गणपति रत्नकेशर खड्काले भन्नुभयो, ‘हामीले निःशुल्क शिविर सञ्चालन ग¥र्यौं, थुप्रै बिरामीले उपचार सेवा पाए, हामी यसैमा खुशी छौँ ।’ दीपायलस्थित उक्त गणले सुदूरपश्चिम पृतनामा कार्यरत नं ५ फिए जिओपिडी शाखाका चिकित्सक टोलीको सहयोगमा शिविर सञ्चालन गरिरहेको हो ।
यसैगरी सोही गाउँपालिका–४ सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा सञ्चालन गरिएको शिविरमा नेपाली सेनाको जिओपिडी शाखाका डा सुमन थापाले भन्नुभयो, ‘हामीले सञ्चालन गरेको शिविरमा थुप्रै बिरामी आएका थिए, जाँच गर्न हामीलाई भ्याई नभ्याई हुँदा पनि कसैलाई फिर्ता पठाउनु परेन ।’
नागरिकको स्वास्थ्य जाँच तथा स्वास्थ्य उपचारका लागि नेपाली सेनाको सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जनाउनुभयोे । शिविरमा नेपाली सेना तथा उक्त विद्यालयका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

















