विशेषज्ञ सहित निःशुल्क स्वास्थ्य शिबिरबाट एक हजार बढी लाभान्वित

130

काठमाडौं / राष्ट्रिय युवा परिषद नेपाल र युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपालको समन्वयमा भएको बृहत निःशुल्क स्वास्थय शिबिरबाट हजारौले लाभ लिएका छन् । यहि माघ २४ गते सिन्धुलीको खाङसाङ र २६ गते रामेछापको गाल्पामा भएको शिबिरबाट त्यस क्षेत्रका एक हजार जना भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको छ । ३ जना बरिष्ठ चिकित्सक ६ चिकित्सक तथा ९ जना नर्स सहितको टोलीले स्वास्थय परिक्षण गरेको राष्ट्रिय युवा परिषद नेपालका प्रशासकिय प्रमुख नारायण कृष्ण श्रेष्ठले जानकारी दिए ।

युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपाल ‘राष्ट्र विकासका लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नारा साथ स्थापीत संस्थाले आधारभूत विशेषज्ञ चिकित्सकीय सेवाको पहुँचबाट टाढा रहेका ती जिल्लामा गएर स्वास्थ्य परिक्षण गरिएको हो संस्थाका अध्यक्ष डा.चन्दन रमनले जानकारी दिए ।

दुई जिल्लाको निशुल्क स्वास्थ्य शिबिरमा दात, हात खुट्टा,ढाड कम्मर पोल्ने,झमझमाउँने, बाथ रोग युरिक एसिड, सुगर रोग, मुटुको समस्या, ,नाक कान घाटी सम्बन्धी समस्या,खाना मन नलाग्ने, अनिद्रा, झस्कने, तर्सर्ने, आलस्या हुने, ओछ्यानमा पिसाप गर्ने, साथै स्त्री सम्बन्धी महिनामारी अनियमित हुने लगायत रोगका बिरामीहरु आएका थिए । स्वास्थ्य परिक्षणमा आएका धेरै जसोको स्वास्थ्य परिक्षण गर्दा स्वास प्रश्वास सम्बन्धी दमको रोग, ग्यास्टीकका धेरै बिरामी भेटिएको थिए । संस्थाका अध्यक्ष डा रमनले शिबिरमा परामश केन्द्र नै राखेर स्वास्थ्य सम्बन्धी सचेतनामूलक जानकारीका साथ यस्ता समस्याको न्युनीकरणको लागि अपनाउन सकिने घरेलु उपायका बारेमा समेत जानकारी दिएको जनाए । डा. रमनका अनुसार स्वास्थ्य चेकअप पछि दुई जिल्लाका बिरामीहरुलाई ८ लाख भन्दा बढीको औषधी निःशुल्क वितरण गरिएको थियो।

शिबिर पछि डा.चन्दन रमनले समाजमा रहेका निमुखा, गरिब, असाहयहरूको लागि महिनामा एकपटक चिकित्सकहरूले निःशुल्क स्वास्थ परिक्षण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘यदि यसो गर्न सकिए सामान्य अवस्थामा नै रोग पहिचान हुने र उपचार गर्न समेत सजिलो हुने भएकाले आम नागरिक आफ्नो स्वास्थ्यबारे बेलैमा सचेत हुनुपर्छ ।’ स्वस्थ नागरिकलाई राष्ट्र विकासमा लगाउन सकिन्छ । तसर्थ यसको लागि राज्य स्तरबाटै पहल हुनुपर्नेमा उनले जोड दिए ।

दुर्गम क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजताका लागि गाउमै विशेषज्ञ सहितको सेवा दिने उदेश्य सहित शिबिर आयोजना युवा परिदकी उपसचिव चन्दा थापाले बताईन् । दुर्गम स्थानमा बसेर गरिबीका कारण सुबिधा सम्पन्न अस्पतालमा गई उपचार गर्न नसकि रोग पालेर बसिरहेकाहरुका लागि स्वास्थ्य शिबिरले फाईदा पुगेकाे छ ।

निःशुल्क शिविरमा आफ्नै गाउँ ठाउँमै स्वास्थ्य परीक्षण गराउँन पाएपछि स्थानीयहरु निकै प्रसन्न भएका थिए । रामेछाप गाल्पाका हातमा लौरी टेक्दै स्वास्थ्य शिविरमा आई पुगेका ७७ बर्षिय मनबहादुर तामाङले गाउमै स्वास्थ्य जाँच र निःशुल्क औषधी पाएकोमा खुशी हुदै डाक्टरलाई धन्यवाद दिए । उनीजस्तै सदरमुकाम आउन नसक्नेहरुले गाउँघरमै यसरी संचालनलित शिविरबाट औषधी उपचार पाएपछि निकै प्रसन्नता व्यक्त गरे ।

शिविरमा धेरै प्रकारका रोगी आएपनि,ग्यास्ट्रीक,नाक कान घाटीका बिरामीहरु शिविरमा धेरै आएको डाः अनुज देवकोटाले बताए । शिविरमा सहभागीले उपचार मात्र नभएर आफ्नो स्वास्थ्यको बारेमा परामर्श समेत लिएका थिए ।

शिबिर सञ्चालन गर्नाले आफुलाई धेरै राहत भएको सिन्धूलीका ७४ बर्षिया मनबीर पहाडीले खुसि ब्यक्त गरे । यस अघि आफुले अहिले सम्म कुनै पनि ठाउँमा निशुल्क स्वास्थ्य परिक्षण नगराएको र यो सुबिधा पाउदा खुशी लागेको बताए । शिबिरमा सबैभन्दा धेरै सेवा लिनेमा महिला रहेका छन भने त्यसमा पनि पाठेघर लगाएत प्रजनन स्वास्थ सम्बन्धिका बिरामीहरु बढी रहेका सिन्धुली फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनारले बताईन् । रोग लागेर ग्रामिण स्तरमा आर्थिक अभावमा सदरमुकाम सम्म आउँन नसक्ने गरिव, वृद्ध, असाहयहरुको लागि निःशुल्क स्वास्थ्य शिबिर गरिएको हो । शिबिरमा काठमाडौंका टिचिङ अस्पताल, बिर अस्पताल, चेस्ट अस्पताल धुलिखेल अस्पतालका ३ जना बिभिन्न बिषज्ञ डाक्टर र ६ चिकित्सक तथा ९ जना नर्ससहितका टोलीले सेवा प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here