ओली प्रचण्ड मिलाप र विवादको अन्तर्य नबुझ्नेहरूको व्यर्थ प्रलाप !

199

-चन्द्रप्रकाश बानियाँ

पछिल्लो साता नेपाली सञ्चारमाध्यमहरूमा चितवनमा पोखिएको प्रचण्डको आक्रोस व्याप्त रह्यो । उसो त ‘क्षणमै तोला, क्षणमै मासा‘मा रूपान्तरित हुने नेकपाका सहायक अध्यक्ष प्रचण्डको पुरानो आनीवानीसँग नेपाली समाज अपरिचित थिएन । कुन क्षण कुन चाहीँ अखेटोमा टेकेर कुन कोल्टो पर्लक्क पल्टने हुन् भनेर कसैले अनुमान गर्न सक्तैन । चाहे ०५२ सालमा बन्दुक उठाउँदा होस्, अथवा भारतविरुद्ध सुरुङ् युद्धको घोषणा गर्दा होस् वा हतियार बिसाउने निर्णय लिँदा होस् अथवा सेना समायोजनको बेला होस् अथवा मधेसी–जनजातिहरूको साथ छोडेर संविधान निर्माणमा एमाले काँग्रेससँग हातमिलाउँदा होस् वा पार्टी एकीकरण (एमालेकरण) को बेला होस् प्रचण्डका सबै निर्णयहरू दुनियाँका लागि विल्कुल आकस्मिक र अपत्यारिला थिए । सदाझै भेनेजुयला मामाला पनि उनको विज्ञप्ति अप्रत्याशित नै थियो । किनकि प्रचण्ड हिजोको जनयुद्ध लडेको माओवादी पार्टीको होइन, सारा माक्र्सवादी नीति, सिद्धान्त, दर्शन, कार्यशैली, मूल्यमान्यता र नैतिकता बेचेर सर्वाङ्ग नाङ्गै बनिसकेको एमाले मिसिएको नेकपा डबलका दोश्रो हैसियतका अध्यक्ष थिए ।

पहिलो कुरा त एक नम्बरका अध्यक्ष देशबाहिर रेहको बेला, त्यसमाथि विश्वसाम्राज्यवादी शक्ति सामु पूर्णरूपमा आत्मसमर्पण गरिसकेको पार्टीको पनि दोश्रो हैसियतको अध्यक्षबाट विश्वको सर्वाधिक शक्तिशाली मुलुक अमेरिकालाई विझ्ने खालको वक्तव्य आउने कल्पना गर्न सकिदैनथ्योे । कसैले नपत्याए पनि आयो । आउन न आउनैपर्ने खालकै वक्तव्य आएको हो तापनि पार्टी, सरकार र स्वयम वक्तव्यवालाको हैसियतले त्यस्तो अपेक्षा गर्न दिदैनथ्यो । ‘भोलिपल्टै म आइपुग्थेँ, हतारो नगरेको भए हुन्थ्योे‘ भन्ने प्रथम अध्यक्षको सार्वजनिक अभिव्यक्तिले प्रचण्डको हैसियतको वास्तविकता उजागर गरिदिएको छ । ‘म आइहाल्थेँ, जे गरे पनि मैले नै गर्थेँ, किन उत्ताउलो हुनुपथ्र्यों‘ भन्ने आसय अभिव्यक्त हुनुको अर्थ हैसियतले नभ्याउने काम किन गर्नुू भन्नु नै हो । कमसेकम दोश्रो अध्यक्षको हैसियत दर्शाउने मनसायप्रेरित भनाई होइन त्यो भन्न मिल्दैन ।

संसदको प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले मात्र होइन, देशको ठूलो विद्वत समाजले समेत प्रचण्डको वक्तव्यलाई अप्रसांगिक, असामयिक, अनावश्यक मात्रै होइन, देशघाती समेत भन्न भ्यायो । स्वयम नेकपाका अर्का अध्यक्षले ‘जिब्रो चिप्लिएको‘ भनेर उक्त वक्तव्यलाई अनधिकृत र अनावश्यक करार गरिदिएपछि प्रचण्डलाई प्रतिरक्षात्मक अवस्थामा पु¥याउनु स्वाभाविक थियो । क्रमभङ्गता र छलाङ्ग जस्ता शब्दहरूसँग विछट्टै प्रेमभाव राख्ने प्रचण्डको स्वभाव ‘विद्रोही‘ प्रकृतिको त छँदै थियो । त्यसमाथि सार्वजनिक रूपमा प्रथम अध्यक्षबाट मानमर्दन गर्ने प्रयत्न भएको घटनाले विक्षिप्त बनायो । चितवनमा पोखिएको आक्रोस त्यही अपमानबोधको विष्फोटन थियो । मनभित्रको कुण्ठा आक्रोस बनेर पोखिएको थियो । बर्षौबर्षदेखि जमेर बसेको हिमताल फुट्यो भने हिउँ मात्रै बग्दैन, हिउँसँगै ढुङ्गो, माटो र रूपखपात समते सरोवर भएर एकैसाथ बग्न थाल्छन् । स्वभावतः प्रचण्डविष्फोटन पनि भेनेजुयला काण्डमा मात्रै सीमित रहेन । त्यसले व्यापक आकार लियो । अर्थात पार्टी एकीकरणयता थुप्रिएका सारा असन्तुष्टिहरू एकैसाथ पोखिए । बगे । त्यो विष्फोटन हिमतालको जस्तै भयावह र विनाशक सावित हुने हो कि भन्ने आशंका समेत समाजमा जन्मायो ।

दुई अध्यक्षहरूबीच वार्ता भैसक्यो, सुलह, सम्झैता पनि भैसक्यो होला । ‘ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा‘ भनेजस्तो एकअर्काको सहायोग, समर्थन र आडभरोसाको खाँचोको गहिरो अनुभूतिले दुबैजनालाई एकै ठाउँमा उभिनुपर्ने बनाएको थियो । चिन्तनका दृष्टिले नभए पनि स्वभाव र आचरणका दृष्टिले भिन्न कित्ताका दुईजनालाई एकै ठाउँमा ल्याउने कुनै विशिष्ट कारण अवश्य थियो । चुनावी एकतादेखि पार्टी एकीकरणसम्मका घटनावलीको वस्तुगत विश्लेषण गर्ने हो भने देशको आवश्यकता, पार्टीहरूको आवश्यकता, समयको आवश्यकता, सैद्धान्तिक व्यवहारिक निकटता वा पार्टी पंक्तिको व्यापक दवाव कतै देखा पर्दैन । न सिद्धान्तले तत्कालीन एमाले र माओवादीलाई एक ठाउँमा पु¥याएको हो, न देशको आवश्यकताले ! ती दुई पार्टीलाई एकठाउँमा पु¥याउने एक मात्र कारण ओली प्रचण्डको साझा सत्ता महत्वाकांक्षा थियो । ती दुई पात्रहरूबीच वैमनस्यता बढ्नु र विग्रह निम्तनु ‘तँलाइ न मलाई, घ्वार्इंलाई‘ भनेजस्तो परिस्थिति निर्माण गर्नु हुन्थ्यो । चतुरहरूमध्येका महाचतुर र स्र्थाीहरूमध्येका महास्वाथ्र्यी दुई व्यक्तित्वले त्यस्तो विनाश निम्तने ‘भष्मासुरे‘ निर्णय लेलान् भने अनुमान गर्नु व्यक्ति र प्रवृत्तिको परख गर्न नसक्नु मात्र थियो ।

चुनाव प्रचार अभियानको सन्दर्भमा उही चितवन पुगेर आफूहरूले पछिफर्कने पुल भत्काएर अघि बढेको भनेर पुन एमालेसँगको सहकार्य र एकताबाट फर्कने सम्भावनाको ढोका पूर्णरूपमा बन्द गरेको घोषणा गरेका उनै प्रचण्डले उही चितवनमा पार्टीभित्र टिक्नै नसक्ने अवस्था उत्पन्न भएको हो रहेछ क्यारे भनेर गरिने अनुमानलाई बलपुग्नेगरी नयाँ माओवादी जन्मनसक्ने सम्मको चेतावनी दिएपछि नेपाली समाज सशंकित र तरङ्गित हुनु स्वाभाविक भयो । पार्टी फुट्ने र सरकार ढल्ने सम्मको अनुमानले नेपाली बजार गर्मायो । रमायो, ताली पिट्यो । वर्तमान सरकारकोे काम हेरेर होइन, सत्तारुढ पार्टीको नामसँग वितृष्णा पाल्ने र घृणा गर्ने जमातको नेपालको कथित बुद्धिजीवि फाँटमा अभाव छैन । बरु प्रमुख प्रतिपक्षी पार्टी नेपाली काँग्रेसले त्यस्तो कल्पना गरेन होला तर बाहिरी समाज एकै रातमा देशको राजनीतिमा उथलपुथल हुने कल्पनामा रमाएको देखियो । काँचो खरबारीमा आगो झोस्ने प्रयत्नहरू प्रशस्तै भएको देखियो । पार्टी बाहिर मात्र होइन भित्रैपनि त्यस्तो प्रवृत्ति रहेछ भन्ने कुरा महासचिवबाट सार्वजनिक भएको ट्वीटले पुष्टि गरिदियो ।

वास्तवमा त्यस्तो कल्पना दुई अध्यक्षहरूलाई जोड्ने रसायनको वास्तविकता नबुझेको समाजले पकाएको ‘ख्याली पुलाउ‘ मात्रै थियो । तत्कालीन एमाले र माओवादीको विलयको कारण दुबै पार्टी कम्युनिष्ट हुनु थिएन । कम्युनिष्ट भएकैले पार्टीहरू आपसमा मिल्ने भैदिएका भए जनमोर्चा र नेमकिपा पनि स्वतः जोडिन आउँथे । नेपालका केही उडन्ते विद्वानहरूले दावी गरेझै ती दुई पार्टीलाई चिनले जोडिदिएको पनि होइन । भारत वा पश्चिमाहरूको प्रेरणा थियो भन्नु त झन हवाई कल्पनाबाहेक केही थिएन । देशको आवश्यकता पनि कारण थिएन । पार्टीका कार्यकर्ता र शुभचिन्तकहरूको चाहना पनि होइन । त्यसो हुन्थ्यो भने पार्टी एकीकरण प्रक्रियालाई भूइतहसम्म पु¥याउनमा कुनै समस्या नै आउँदैनथ्यो । दुई पार्टीलाई मिलाउनुमा उपल्लोस्तरसम्म पहुँच पुग्ने हैसियतका केही दर्जन नेताहरूको धेरथोर स्वार्थले काम गरेको थियो होला तर मूल कारण भनेको भनेको ओली प्रचण्डको स्वार्थ थियो ।

ओली प्रचण्डको विवाद पानीको फोकाजस्तै अस्थायी हो । ‘लोग्ने स्वास्नीको झगडा, परालको आगो‘ भनेझै दुई अध्यक्षबीचको आगो निभाउन कुनै दमकलको आवश्यकता पर्दैनथ्यो, परेन । ती दुई मठाधीशहरूबीच पार्टी छिन्नभिन्न हुनेगरी मनमुटाव विकसित हुनै सक्तैन । एउटाको सहाराविना अर्काको अस्तित्व रहने स्थिति नै छैन । आपसमा लडेर भविष्यका सारा सुनौला सपनाहरूमाथि तुषारोपात गर्ने मुर्खता दुबैबाट हुनै सक्तैन । पार्टी विग्रहको सम्भावनाले तत्काल आफ्नो हैसियत ‘पुन मुषिको भवः‘ को स्थितिमा पुग्छ भन्ने कुरा ओलीलाई राम्रोसँग जानकारी छ । प्रचण्डले पनि ओलीसँग दुश्मनी गरेर भविष्यका सारा सम्भावना र सपनाहरूमा तातोपानी खन्याउने मुर्खता गर्दैनन् । सत्ता, शक्ति र स्वार्थ दुई व्यक्ति सँगै रहँदासम्मको हो । ओली प्रचण्ड दुई ध्रुवमा उभिँनासाथ पाटीभित्र तेश्रो शक्ति बलवान बनेर निस्कन्छ भन्ने कुरा दुबै जनाले बुझेका छन् । त्यसैले यतिखेर देखिएको विवाद चैतमासको गड्याङ् गुडुङ् जस्तो मात्र हो । चैते हुरीले आकाशमा जम्मा भएको कालो बादल उडाएर छिन्न भिन्न पारिदिए पछि पानी पर्ने सम्भावना सम्पूर्णरूपमा तुहिएजस्तै दुई अध्यक्षहरूको महात्वाकांक्षा र सत्तापिपासारूपी हावाले यतिखेरको विवाद समाप्त गरेर द्वन्दको सम्भावनालाई सम्पूर्णरूपमा समाप्त पारिदिनेछ ।- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here